आज १७औँ गणतन्त्र दिवस मनाइँदै छ । सरकार भव्यतासाथ गणतन्त्र दिवस मनाउन लागिपरेको छ । नेताहरूको मुखबाट गणतन्त्रको भजन सुनेको वर्षौँ भयो । गणतन्त्रको महिमा सुन्दासुन्दै कानै पाकिसक्यो ! तर, नेताहरू अझै भजन गाउन छाडेका छैनन् ।

नेपालमा गणतन्त्रको स्थापना एक ऐतिहासिक परिवर्तन थियो । २०६३ सालको जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्र स्थापना भयो । गणतन्त्रसँगै हामीले ‘लोकतन्त्र’को ट्याग पनि भिरेका छौँ ।
लोकतन्त्र त त्यस्तो व्यवस्था हो, जहाँ साँच्चै जनताको मनको कुरा, बहुमतको चाहनाले शासनको बागडोर समात्छ । अनि, विकासलाई गाउँ–गाउँ, कुनाकन्दरासम्म पु¥याउन भन्दै नेपाललाई संघीयताको रङ्गमा पनि रङ्गाइयो । त्यसैले, आजको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चम्किलो प्याकेज हो ।
यो परिवर्तनले जनतामा ठूलो आशा जगाएको थियो– समानता, स्वतन्त्रता, समृद्धि र सुशासनको सपना । तर, डेढ दशक बितिसक्दा पनि गणतन्त्रको मर्म जनताले महसुस गर्न सकेका छैनन् । बरु, यो व्यवस्था नेताहरूको लागि सत्ताको स्वर्ग र जनताको लागि निराशाको खाडल बनेको छ । गणतन्त्रको नाममा नेताहरूको रजगज चलेको छ । जनताको जीवनमा भने खजमज नै छ ।
भनिन्छ– गणतन्त्रमा जनता र राज्यबीच सिधा सम्बन्ध हुन्छ । जहाँ जनताको सुख–दुःख राज्यको आँखामा ऐनाजस्तै छर्लङ्ग देखिन्छ । देख्नेमात्र होइन, जनताको सुख, दुःखमा मल्हम लगाउने जिम्मा पनि गणतान्त्रिक राज्यले लिन्छ । यो कुरालाई मनन गरेर आज नेपाली जनता स्वतन्त्रता, समृद्धि, सुरक्षा र सुखको सपना बोकेर छटपटाइरहेका छन् ।
गणतन्त्रको घोषणासँगै जनताले आफ्नो आवाज बलियो हुने, सरकार जवाफदेही हुने र समृद्धिको बाटो खुल्ने अपेक्षा थियो । राजतन्त्रको अन्त्यले वंशजको शासन हटाएर जनताको प्रतिनिधिमूलक शासन ल्याउने वाचा गरेको थियो । तर, व्यवहारमा यो वाचा केवल नेताहरूको सत्ता स्वार्थ पूरा गर्ने औजार मात्र बनेको देखिन्छ । गणतन्त्र आएपछि नेताहरूले आफूलाई ‘नयाँ राजा’ ठान्न थाले । सत्ताको सुखभोग, मन्त्री–सांसदहरूको भव्य जीवनशैली र ठेक्का–पट्टाको खेलले गणतन्त्रलाई नेताहरूको निजी सम्पत्तिजस्तो बनाएको छ ।
गणतन्त्र संसारको उत्कृष्ट व्यवस्था भन्दै घोकाए । जनता पनि गणतन्त्रको मिठास चाख्न लालायित भए । यो भोक विशेषगरी गणतन्त्र दिवसको बेला झनै बल्झिन्छ । त्यसैले यो दिन त नेपालीको समृद्धिको भोक जाग्ने ठूलो पर्वजस्तै हो !
तर, अब प्रश्न उठ्छ– यो १७ वर्षमा गणतन्त्रले जनताको यो भोक कति मेटायो ? प्रश्नको जवाफले नै हाम्रो गणतान्त्रिक लोकतन्त्रको असली अनुहार छर्लङ्ग हुन्छ ।
गणतन्त्र नेताहरूको लागि स्वर्णिम युग बनेको छ । तर, जनताको लागि यो निराशाको युगजस्तै छ । नेताहरूको सत्तामोह, भ्रष्टाचार र स्वार्थले गणतन्त्रको मूल मर्ममै प्रहार गरेको छ । जनताले गणतन्त्रलाई आफ्नो व्यवस्था ठान्न सकिरहेका छैनन् । किनकि, यो नेताहरूको रजगजको साधन बनेको छ । नेताहरूको महल, विदेशी गाडी र वैभवशाली जीवन हेर्दा लाग्छ, गणतन्त्र उनीहरूको लागि मात्र आएको हो ।
उता, गाउँ–गाउँका जनता आधारभूत सुविधाबाट वञ्चित छन् । स्वास्थ्य, शिक्षा र रोजगारीको अवसरमा सुधारको सट्टा नेताहरूको नातेदार र आसेपासेले अवसरको दोहन गरिरहेका छन् । शासन फेरिए पनि शासकको पुरानै बानी, उही रवैया ।
गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भनेर जति बिगुल फुके पनि आज जनता निराश छन् । एउटा यस्तो ‘वर्ग’ देखापरेको छ, जो आफूलाई जनताभन्दा ठूलो ठान्छन् । उनीहरूलाई ऐन–कानुनले छुँदैन । आफूलाई ‘सुपरहिरो’ ठान्छन् । यो वर्गले त हिजोका निरंकुश, स्वेच्छाचारी शासकलाई पनि बिर्साइदिने ठेक्का लिएजस्तो छ । यस्तोमा जनता आक्रोशित नहुन् पनि कसरी ? तर, दुखद् कुरा ! जनताको यो आक्रोश, असन्तुष्टिलाई शासकहरू ‘गणतन्त्र मास्ने षड्यन्त्र’ भन्दै उल्टै जनतालाई दोष थुपार्छन् ।
गणतन्त्रले जनतालाई अधिकारको सपना देखायो तर त्यो सपना नेताहरूको स्वार्थको जालोमा अल्झिएको छ । सत्तामा पुगेपछि नेताहरूको प्राथमिकता जनसेवा होइन, सत्ता र सम्पत्तिको जोहो बनेको छ ।
मन्त्रीहरूको सवारीमा साइरन बज्छ, सडकमा जनता घण्टौँ जाममा पर्छन् । नेताहरूका नजिकका व्यापारीले ठेक्का–पट्टा र कमिसनको खेलमा करोडौँ कमाउँछन्, तर जनताको करको पैसा सडक, अस्पताल, र स्कूलमा पुग्दैन । गणतन्त्रको उपलब्धि भनौँ, नेताहरूको बैंक ब्यालेन्स बढ्यो, तर जनताको जीवनस्तर उस्तै छ ।
राजनीतिक दलहरूले गणतन्त्रलाई आफ्नो सत्ताको सीँढी बनाए । हरेक निर्वाचनमा ठूला–ठूला आश्वासन बाँडिन्छन्, तर सत्तामा पुगेपछि ती आश्वासन कागजमै सीमित हुन्छन् । नेताहरूको गुटबन्दी, सत्ताको लुछाचुँडी र भ्रष्टाचारले गणतन्त्रको मर्ममै प्रहार गरेको छ । जनताले मत दिएर पठाएका प्रतिनिधिले संसदलाई जनसेवाको थलो बनाउनुको सट्टा सत्ताको सौदाबाजीको अखडा बनाएका छन् । यस्तोमा जनताले गणतन्त्रलाई आफ्नो व्यवस्था ठान्न कसरी सक्छन् ?
गणतन्त्र आएपछि जनताको जीवनमा खासै परिवर्तन आएको छैन । बेरोजगारी, महँगी र अव्यवस्था उस्तै छन् । गाउँमा स्वास्थ्य चौकीमा औषधि छैन । स्कूलमा शिक्षक छैनन् । शिक्षा र स्वास्थ्यमा निजीकरणको प्रभावले जनताको ढाड सेकिएको छ । गणतन्त्रले जनतालाई सशक्त बनाउने सपना देखाएको थियो, तर वास्तविकतामा जनता सधैं सास्तीमै छन् ।
युवाहरूको ठूलो हिस्सा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको छ । गणतन्त्रले देशभित्रै अवसर सिर्जना गर्छ भन्ने आशा थियो, तर नेताहरूको अकर्मण्यताले त्यो आशा निराशामा बदलिएको छ । गाउँका किसानले मल र बिउ समयमा पाउँदैनन्, तर नेताहरूको परिवारले विदेशी विश्वविद्यालयमा पढ्ने अवसर पाउँछ । यो खाडलले गणतन्त्रको वास्तविक चेहरा देखाएको छ ।
यस्तो अवस्थामा जनतामा निराशा र आक्रोश जन्मनु स्वाभाविकै हो । तर, शीर्षस्थ नेता भनाउँदाहरू ‘गणतन्त्र खतरामा छ’ भन्दै जनतालाई नै दोषको भारी बोकाउँदै छन् । भाषणमा अग्रगमनको कुरा गर्छन् । तर, आफैँ पछाडि फर्किंदै छन् । आफ्नै गल्तीले बनेको संकटको दोष जनताको टाउकोमा थुपार्ने दुष्प्रयास गर्छन् ।
गणतन्त्र त केवल राजा फाल्दैमा आउँदैन । यदि जनताको आवाज सुनिँदैन, कानुनको कदर हुँदैन, जनताको स्वतन्त्रता र समृद्धिको चाहनालाई बेवास्ता गरिन्छ, अनि जनतालाई ‘आफ्नो शासन’को अनुभूति हुँदैन भने त्यो गणतन्त्र के काम ?
गणतन्त्रलाई साँच्चिकै जनताको व्यवस्था बनाउन नेताहरूले आफ्नो ‘महाराज’ प्रवृत्ति त्याग्नुपर्छ । सुशासन, जवाफदेहिता र पारदर्शिताविना गणतन्त्र केवल सत्ताको लेबलमात्र रहन्छ । नेताहरूले जनताको सेवक बन्न सिक्नुपर्छ, न कि सत्ताको मालिक । भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्छ । शिक्षा, स्वास्थ्य, र रोजगारीमा लगानी बढाएर जनताको जीवनस्तर उकास्नुपर्छ ।
गणतन्त्र तबमात्र सार्थक हुन्छ, जब जनताले आफूलाई शासनको मालिक महसुस गर्छन । यो मेरो हो भन्ने अनुभूति गर्छन । नत्र, सालमा एकपटक यो नौटंकी मञ्चन गरेर जनतालाई जबर्जस्ती ‘गणतन्त्र जिन्दावाद’ भन्न लगाउनुको अर्थ छैन ।
गणतन्त्र त केवल राजा फाल्दैमा आउँदैन । यदि जनताको आवाज सुनिँदैन, कानुनको कदर हुँदैन, जनताको स्वतन्त्रता र समृद्धिको चाहनालाई बेवास्ता गरिन्छ, अनि जनतालाई ‘आफ्नो शासन’को अनुभूति हुँदैन भने त्यो गणतन्त्र के काम ? गणतन्त्र तबमात्र सार्थक हुन्छ, जब जनताले आफूलाई शासनको मालिक महसुस गर्छन । यो मेरो हो भन्ने अनुभूति गर्छन । नत्र, सालमा एकपटक यो नौटंकी मञ्चन गरेर जनतालाई जबर्जस्ती ‘गणतन्त्र जिन्दावाद’ भन्न लगाउनुको अर्थ छैन ।











