Logo
Logo
खेलकूद/जम्काभेट

‘पैसा नहुने हो भने नेपालमा खेलाडी बन्न सकिँदैन’


1.2k
Shares

उनी बाल्यकालदेखि नै तेक्वान्दोप्रति रुचि राख्थिन् । अहिले तेक्वान्दोे उनको दिनचर्या बनेको छ । मनैदेखि इच्छाए अवश्य पुग्छ भन्ने उदाहरण हुन् अस्मिता खड्का । रहर र रुचिले तेक्वान्दोे खेलमा होमिएकी अस्मिता हिजोआज खेललाई नै जीवन ठान्छिन् । तेक्वान्दोेकी राष्ट्रिय खेलाडी अस्मिताले हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन् । उमेरले २७ मा हिँडिरहेकी अस्मिता भन्छिन्, ‘यो ज्यानले सकेसम्म खेलमै समर्पित रहने छु ।’ १० वर्षकै उमेरबाट खेल्न थालेकी अस्मिताले ४५ भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन । यिनै तेक्वान्दो खेलाडी अस्मिता खड्कासँग रेजिना पाण्डेको जम्काभेट :

तेक्वान्दो खेलप्रति कसरी आकर्षित हुनुभयो ?
लगभग आठ बर्षकी थिएँ होला । म जस्तै साथीभाइहरूले तेक्वान्दो खेलेको देख्दा निकै रमाइलो लाग्थ्यो । मेरो इच्छा र चाहाना बुझेर बाबा र ममीले मलाई स्युचाटारमा तेक्वान्दो सिक्न पठाउनुभयो । गुरु नुबु लामासँग सिक्दै गएँ, पहिलोचोटी आठ बर्षकै उमेरमा स्कुल लेवलको गेम १८ केजी समूहमा खेलेको थिएँ । त्यसमा तेस्रो भएर मेडल पाएपछि खेल्ने उर्जा थपिँदै गयो । अहिलेसम्म देश बिदेशमा गरेर दजनौँ खेल खेलिसकेँ ।

आजसम्म कुन–कुन देशमा गएर खेल्नुभयो ?
सानो सानो गेमहरू त डोजाङ क्लवसँग आवद्ध भएर धेरै खेलेँ । नेपालमा ड्रिस्ट्रिक र प्रदेश लेवल अनि वडा च्यापियनसिपमा पनि खेलेँ । देशबाहिर गरेर दजनौँ गेम खेलिसकेँ । जसमा मलेसिया, कोरिया चीन, इटाली, हङकङ, मकाउ, दुवई, ताईवान, इन्डोनिसिया लगायतमा देशमा गएर खेलेकी छु । जुन देशमा खेलेँ, त्यहाँबाट गोल्डमेडल, सिल्भर जस्ता मेडल नलिइ हात खाली फर्कन परेको छैन ।

जितेर पनि हारेको महसुस भएको गेम कुन हो ?
साउथ एसियन गेममा इण्डियासँग हार्दा निकै दुःख लागेको थियो, जुन गेममा हामीले कास्य पदकमै चित्त बुझाउनु प¥यो । खेल जितेर पनि हारेको महसुसचाहिँ भएको छैन ।

तपाईँ खेलमै मात्र सीमित हुनहुन्छ कि अरु केही गर्नुहुन्छ ?
अहिले गेमबाहेक अरु क्षेत्रमा छैन । म अहिले यही गेमको अन्तर्राष्ट्रिय निर्णायक र कोच पनि भइसकेकी छु । यस गेमलाई नै निरन्तर दिने उद्देश्यले नै निणर्यक र कोचको टे«निङ लिएकी थिएँ ।

तपाईँले तेक्वान्दो नै किन रोज्नुभयो ?
सानोमा त्यही खेलमा आँखा प¥यो । अनि खेल नबुझ्दै खेल्दै गएको तेक्वान्दो नै मेरो जीवनको लक्ष्य बन्दै गयो । मैले लिएको लक्ष्यबाट पछुतो भएको छैन । दाम कमाउन नसके पनि नाम कमाएकी छु ।

खेल जीवनमा समर्पित हुन पारिवारिक स्पोर्ट छ कि छैन ?
विवाह अगाडि पनि ममी–बाबाको साथ राम्रो पाएकीे थिएँ भने विवाहपछि श्रीमान तथा सबै परिवारको सपोर्ट मिलेको छ । त्यही भएरै निरन्तरता दिन पाएकी छु । मेरो श्रीमान विकेश विडारी पनि तेकान्दो खेलाडी हुनुहुन्छ ।

खेलकुदमा लागेर अहिलेसम्म के पाउनुभयो ?
आफँैले आफैँलाई प्रश्न गर्ने अवसर नै पाएको छैन । तर म यो गेम खेल्दा आफैँलाई आन्नद लाग्छ । गेमबाट खुसी पाएकी छु । म गेममा रमाउँछु ।

नेपालमा तेक्वान्दो खेलको अवस्था कस्तो छ ?
साँच्चै भन्ने हो भने हाम्रो देशमा जुनै पनि गेमको अवस्था गम्भिर र नाजुक छ । खेलाडीहरूलाई टे«निङ सुविधाहरू केही छैन । सबै आफ्नै लगानीमा खेल्नुपर्छ । ९५ प्रतिशत गेम आफ्नै खर्चमा खेल्नुपर्छ । टे«निङ, खानपानको खर्च पनि आफैले जुटाउनुपर्ने अवस्था छ । खेलाडी देशको गहना भन्छन् तर खेलाडीलाई चम्काउने पहल राज्यबाट भएको देखिँदैन । यो खेलाडीका लागि दुःखद हो । हामी आफ्नै देशमा बिचलित छौँ ।

खाशगरी खेलकुदमा राज्यले के गर्नुपर्छ ?
विदेशमा खेलाडीहरूलाई राज्यले दिएको सुविधा देख्दा निकै आन्नद लाग्छ । यहाँ त ‘खेलाडी तिमी देशको गहना हौं’ भन्छन् । तर, सुविधा छ्रैन । विदेशमा देशलाई चिनाउ भनेर अनेक सुविधा दिएका छन् । विदेशमा इन्स्युरेन्सदेखि खर्चपानीको सबै व्यवस्था राज्यले गरिदिन्छ । तर, हाम्रो देशमा खेलाडीको लागि फुस्रो शान मात्र छ । क्षमता हुँदाहुँदै पनि पैसा नहुने हो भने चाहिँ नेपालमा खेलाडी बन्न सकिँदैन । यसबारे राज्यले ध्यान दिनुपर्छ ।

तपाइँ आफ्नो खर्च कसरी मिलाउनु हुन्छ ?
म शसस्त्र प्रहरी बलमा आवद्ध छु । त्यहाँबाट आउने तलव जम्मा गर्दैै यताउता गर्दै रहर पूरा गर्छु ।

गेमबाट कमाएको पहिलो रकम कति थियो ?
१६ बर्षको उमेरमा लुम्बिनी नेशनल गेम खेलेको थिएँ । जसमा मैले मेडलका साथै क्यास प्राइज ७५०० पाएको थिएँ । त्यो रकमले मैले मोवाइल किनेँ । खुशीको सीमा नै थिएन । कतैकतै व्यक्तिगत रुपमा भएका प्रतियोगिताबाट पनि राम्रै क्यास प्राइज पाएकी छु ।

देशको राजनीति अवस्थाले नै यो परिस्थिति आएको हो त ?
राजनीति म खासै बुझ्दिनँ । तर, देशको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने उदारण आज देखिएको छ । आफनो लागिभन्दा पनि सरकारले आम जनताका कुराहरू बुझिदिए राम्रो हुन्थ्यो ।

भविष्यको योजना के छ ?
यही खेलमै अझ बढी सिकेर हुन्छ या सिकाएर हुन्छ, सक्रिय भइराख्ने सोच बनाएकी छु ।

प्रतिक्रिया दिनुहोस्