काठमाडौं । नेपाल सरकारले मुस्लिम समुदायको महत्त्वपूर्ण चाड बकर इद (इद-उल-अज्हा) को अवसरमा भोलि २४ जेठ २०८२ शनिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रवार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “मिति २०८२ जेठ २४ गते शनिवार बकर इद (इद-उल-अज्हा) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूसहित नेपाली दिदीबहिनी र दाजुभाइहरूमा गृह मन्त्रालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”
बकर इद, जसलाई इद-उल-अज्हा पनि भनिन्छ, इस्लामिक पात्रोको दसौँ महिनामा मनाइने मुस्लिम समुदायको प्रमुख चाड हो। यो चाड रमजान महिनाको उपवास (रोजा) पछिको दोस्रो ठुलो पर्व मानिन्छ। रमजानभर मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म खाना, पानी, र अन्य भौतिक सुखबाट टाढा रही आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, र आत्मसंयमको अभ्यास गर्छन् ।
जानकारहरूका अनुसार, बकर इदले बलिदान, एकता, र परोपकारको सन्देश बोकेको छ। यो अवसरमा मुस्लिम समुदायले विशेष नमाज पढ्ने, दान गर्ने, र एकअर्कासँग शुभकामना साटासाट गर्ने गर्छन् ।
