
समयसँगै फेरिएको छ, खुसीको परिभाषा । बाल्यकालमा दसैँ आउँदा जति खुसी लाग्थ्यो, अहिले त्योभन्दा धेरै खुसी ‘भिसा लाग्यो’ भन्ने खबरले दिन्छ । चाडपर्वभन्दा ठूलो चाड यही खबर बनेको छ । अहिले जसको घरमा भिसा आउँछ, त्यो घरमा खुसी छाउँछ ।
डेढ वर्षअघिको त्यो क्षण अझै सम्झना छ– जब बहिनीको जापानको भिसा आयो । त्यो कागज केवल अनुमतिपत्र थिएन, त्यो त उसको सपना प्रवेश गर्ने ढोका थियो । चार वर्षको मिहेनतको फल थियो त्यो ।
जब बिदाइको दिन आयो, मनको एउटा कुनो गर्वले फुलिरहेको थियो, अर्को कुनोमा खाली शून्यता थियो । अहिले मसँगै भएकी दुइटी बहिनीहरू पनि उही सपना बोकेर हिँडिरहेका छन् । दिदी गाउँबाट राजधानी आएकी छिन– भाषा सिक्न, भविष्य थाम्न, परदेश जाने डोरो समात्न ।
‘देशमै केही गरौँ’ भन्ने आदर्श अब किताबको पानामा थन्किएको भाषणजस्तो लाग्छ । हावा सास फेर्न पाइने अधिकार पनि आश्वासनको टोकरामा प्याक भएर आउँछ । धेरै साथीहरू विदेश पलायन भइसके, केही जान तम्तयार भएर बसेका छन् । देशमा बस्नेहरू पछुताइरहेका छन् । त्यसभित्र म आफैँ पनि पर्छु– सायद अलि छिटै बुझेको भए… ।
पहिला भनिन्थ्यो– ‘सके देशमै गर्छु, नसके विदेश जान्छु ।’ अब यो वाक्य उल्टिएको छ–‘सके विदेश जान्छु, नसके यहीँ बस्छु !’ यो केवल वाक्यको फेरबदल होइन, परिस्थितले सिकाएको पाठ हो । ऐनामा देखिएको युवाको भविष्य हो ।
गत वैशाख २७ गते शिवपुरी हाइकिङ गएका थियौँ । हामी चढ्दै थियौँ । केही झर्दै थिए । ती अपरिचित मान्छेहरू गफिँदै थिए । कुरा भिसाकै थियो । भन्दै थिए– ‘भिसा लाग्न त भाग्य चाहिन्छ !’ त्यो वाक्यमा उनको मात्र होइन, हामी सम्पूर्ण पुस्ताको नियति बोलेको थियो ।
देशभित्रको अवस्था यस्तो छ– यहाँ कसैलाई बस्न छैन ! सबै विदेशिन आतुर छन् । यहाँ ज्योतिषले आफ्नो भविष्य देख्दैनन् । भविष्यको कर्णधारको भविष्य छैन ! किसान हलगोरु बेचेर हिँड्छन् । शिक्षक–प्राध्यापक जीवनको पाठ पढ्न जान्छन् ।
युवा, ब्रेन र मसल बेच्न जान्छन् । जीवनमा खेलबाड हुन थालेपछि खेलाडी हानिन्छन् । पत्रकार समाचार बनिन पुग्छन् । यही बस्ने डाक्टर बिरामी बन्छन् ! वकिल विदेश जानुपर्छ भन्ने पक्षमा वकालत गर्छन् !
युवा पलायन मत्थर हुने छाँटकाँट छैन । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, विदेश जानलाई उठ’ भन्न थालिसके । यस्तो लाग्छ– सिङ्गो देश नै विदेश यात्रामा छ । यसरी नै विदेशिरहने हो भने नेपाल अनाथालय र वृद्धाश्रम बन्ने छ !
प्रत्येक दिन उज्यालो नहुँदैदेखि मध्यरातसम्म आकाशमा हवाइ उडानहरू चलिरहन्छन् । मानिसहरू आइरहेका छन्, गइरहेका छन् । उमेर बेच्न विदेशिरहन्छन् । सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिँड्न तम्तयार छन् । कोही फर्कने गरी देश छाड्छन् । कोही कहिल्यै नफर्कने गरी ।
विदेशिनुको कारण अनेक होलान् । तर, मुख्य कारण रोजगारी हो । एकताका निकै लोकप्रिय नारा थियो– ‘एक घर, एक रोजगार ।’ यो नारा दलहरूले घोषणामै सीमित भयो । अहिले ‘एक घर एक वैदेशिक रोजगार’ भएको छ । वैदेशिक रोजगारमा नगएको घर पाउन मुस्किल छ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा ७५ लाख ५२ हजार ६६ घर छन् । तर, विदेशमा ८० लाख बढी नेपाली भएको दाबी गरिन्छ ।
देशमा रोजगारी समस्या बढ्या–बढ्यै छ । प्रतिवर्ष करिब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने गर्छन् । तर, अधिकांशले रोजगारी पाउँदैनन् । रोजगारी नपाउनेहरू हल्लिएर बस्छन् । केही विदेश पलायन हुन्छन् । युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनेको छ ।
यस्तो अवस्थामा सरकारले युवामैत्री कार्यक्रम ल्याउनु पर्ने हो । श्रम र रोजगारी बढाउनुपर्ने नीति अवलम्बन गर्नु पर्ने हो । तर, उल्टै सरकारले श्रम र रोजगारी क्षेत्रको बजेट झन्डै आधाले घटाएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चार अर्ब २८ करोड विनियोजन गरिएको उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा आठ अर्ब १० करोड विनियोजन गरिएको थियो । आगामी आवका लागि मन्त्रालयको बजेट झन्डै आधा अर्थात् ४७ दशमलव १६ प्रतिशतले कम हो ।
युवालाई देशमै राख्न सरकारले युवालक्षित कार्यक्रम ल्याउनु पर्ने हो । श्रम र रोजगारी बढाउने योजना बनाउनुपर्ने हो । तर, सरकारले ठिक उल्टो बाटो समातेको छ । युवालाई देशमा राख्नै हुन्न भन्ने नीति लिएको देखिन्छ । युवाले देश बनाउने होइन, खाडीमा पसिना बगाउने हो भन्ने नीति छ ।
राज्य युवा बेचेर देशको खर्च धान्न चाहन्छ । र, शासकहरूले रेमिट्यान्सले देश धानेको छ भन्दै गर्वका साथ छाती पिट्छन् । तर, देश रेमिट्यान्सले मात्रै नभइ आयातित बस्तुले धानेको भुल्छन् । भन्सार विभागको तथ्यांक हेर्ने हो भने महिनामै अर्बैको खाद्यान्न मात्रै आयात भएको देखिन्छ । अरूको त कुरै छाडौँ ।
वैदेशिक रोजगारीले नेपाली समाजमा आर्थिक गर्जो टर्ने गरेको कुरा सत्य हो । विदेशबाट पठाएको पैसाले धेरै नेपालीको चुलो बलेको छ । महँगो स्वास्थ्य उपचारमा सहयोग पुगेको छ । छोराछोरीले निजी स्कुलमा पढेका छन् । यसरी आर्थिक पाटोबाट हेर्दा चित्त बुझाउने ठाउँ छ । तर, यसले निम्त्याएका पारिवारिक, सामाजिक, राजनीतिक एवं राष्ट्रिय विकास निर्माणका चुनौती विकराल छन् ।
देश विकास गर्न युवाको तागत चाहिन्छ । तर, त्यो तागतलाई निर्यात गरिरहेका छौँ । राज्यले पनि युवालाई स्वदेशमै समेट्ने प्रयास गरेको छैन । राज्यले गुणस्तरीय शिक्षा, व्यावसायिक तालिम, उद्यमशीलताको प्रवद्र्धनमा लगानी गर्नुपर्ने हो । तर, सरकारले श्रम र रोजगार मन्त्रालयको बजेट आधा कटौती गर्छ ! अनि कसरी रोकिन्छ युवाको पलायन ?
कुनै पनि देश विकास हुनका लागि त्यस देशका युवा शक्तिको भूमिका ठूलो हुन्छ । जुन देशले युवाको जोस, जाँगर, ज्ञान, सीप र तागतलाई विकासमा लगाउन सक्दैन, त्यो देशको विकास सम्भव हुँदैन । त्यसैले राज्यले देशका युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारमूलक तालिम एवं आयआर्जनका अवसरको सिर्जना गर्न ढिला नगरोस् ।