काठमाडौं । राष्ट्रपति निर्वाचनका बेला डोनाल्ड ट्रम्प र टेस्ला कारका मालिक तथा धनाढय इलोन मक्सबीच नङ-मासुझैँ थिए । यतिसम्म कि ट्रम्पलाई राष्ट्रपति जिताउन मक्सको ठूलो देन छ । मक्सले आफ्नो कम्पनी एक्स पुरै ट्रम्पलाई राष्ट्रपति जिताउन प्रयोग गरेका थिए । तर, अहिले राष्ट्रपति ट्रम्प र मक्सको सम्बन्ध त्यस्तो छैन ।

ट्रम्प र मस्कबीचको मतभेद अहिले सतहममा आएको छ । उनीहरुबीच शब्दयुद्ध नै चलेको छ । परिस्थिति यस्तो अवस्थामा पुगेको छ, ट्रम्पले सरकारसँग मस्कको ठूलो स्तरको व्यापारिक सम्झौता अन्त्य गर्ने धम्की दिएका छन् भने मस्कले ट्रम्पविरुद्ध महाभियोग माग गरेका छन् ।
उनीहरूबीच जारी द्वन्द्वको केन्द्र ट्रम्प प्रशासनको कर र खर्च विधेयक भएको भएको बताइन्छ । जसप्रति मस्कले असन्तुष्टि व्यक्त गरेका छन् । जुन विधेयकलाई ट्रम्पले यस ‘ठूलो र सुन्दर विधेयक’ भनेका छन् । जसमा कर कटौती, सरकारी सुविधा प्राप्त गर्नेहरूका लागि कडा नियम र ऋणको सीमा बढाउने रहेका छन् ।
अनुमानअनुसार यो विधेयकले अमेरिकी बजेट घाटा लगभग ६०० अर्ब डलर बढाउनेछ । यो विधेयक मे महिनामा हाउस अफ रिपब्लिकनमा मुस्किलले पारित भएको थियो । अब यो विधेयक अमेरिकी सिनेटमा छ, जहाँ यस विधेयक प्रावधान परिवर्तन गर्ने मौका हुनेछ । त्यसपछि अनुमोदनका लागि यो विधेयक ट्रम्पकहाँ जानेछ ।
अमेरिकी सदनका सभामुख माइक जोनसन राष्ट्रपति डोनाल्ड ट्रम्प र इलोन मस्कबीच मेलमिलाप चाहन्छन् । बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएसका अनुसार माइक जोनसन भन्छन्, ‘यदि सबै कुरा राम्रो भयो भने यो पार्टी र देशको लागि राम्रो हुनेछ ।’
यस्तै, सीबीएस न्युजले ट्रम्प आफ्नो टेस्ला कार बेच्ने सोचमा रहेको समाचार लेखेको छ । ट्रम्पले मस्कलाई ‘दिमाग खुस्केको’सम्म भनेका छन् । राष्ट्रपति ट्रम्प र उनका पूर्वसल्लाहकार मस्कबीचको फाटो बिहीबार राति सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो ।
ट्रम्पले आफ्नो खर्च विधेयकविरुद्ध मस्कको आलोचनाले ‘निराश’ बनाएको बताएपछि विवाद सुरु भएको थियो । त्यसपछि मस्कले ट्रम्पलाई ‘कृतघ्न’को आरोप लगाए । उनले भने, ‘म नभएको भए, ट्रम्पले चुनाव हार्न सक्थे ।’ स्मरण रहोस्, मस्क सरकारी दक्षता विभाग (डज)बाट बाहिरिनासाथ यो विवाद सुरु भएको हो ।
अहिले ट्रम्प र मक्सबीच शोसल मिडियामा एकअर्कालाई शब्द प्रहारको दोहोरी चलिरहेको छ । जसलाई अन्तर्राष्ट्रिय मिडियाहरुले समेत अनेक आकलन गर्दै प्राथमिकताका साथ स्थान दिँदै आएका छन् ।