Logo
Logo

दलित उत्पीडनविरुद्ध राष्ट्रिय गोलमेच सम्मेलन हुने


819
Shares

काठमाडौं । दलित समुदायमाथिको उत्पीडन रोक्न र मुक्तिको मार्ग पहिल्याउन आगामी जेठ ३०, ३१ र असार १ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजना हुने भएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले यो जानकारी दिएको हो ।

आयोजक समितिका संयोजक डा। निर्मल विश्वकर्माले यो सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको र कुनै पनि राजनीतिक दल वा संस्थाबाट प्रभावित नभई दलित समुदायको मुक्तिका लागि मौलिक र स्वतन्त्र पहल हुने बताए । “विश्वमा गोलमेच सम्मेलन उत्पीडित समुदायका लागि प्रभावकारी विधि साबित भएको छ। नेपालमा यो पहिलो प्रयास हो र हामी यसलाई दलित मुक्तिको कोसेढुङ्गा बनाउन चाहन्छौँ,” उनले भने ।

सम्मेलनले तीन प्रमुख एजेन्डामा केन्द्रित रहने विश्वकर्माले बताए । राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतसाधनमा दलित समुदायको हिस्सेदारी, र धर्म सुधार । यी विषयमा गहन छलफल गरी ठोस कार्ययोजना बनाउने उनको भनाइ छ । 

सामाजिक अभियान्ता होमराज आचार्यले २१औँ शताब्दीमा पनि दलित समुदायमाथि छुवाछूत र अपमान कायम रहनु दुखद् भएको बताए । “लामो सङ्घर्ष र परिवर्तनपछि पनि दलित समुदायले समानता र न्यायको प्रत्याभूति गर्न पाएका छैनन् । नयाँ रूपमा उत्पीडन थोपरिएको छ। यो सम्मेलनले यस्ता षड्यन्त्रविरुद्ध आवाज बुलन्द गर्नेछ,” उनले भने ।

सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक ९अग्नी शिखा० ले देशका सातै प्रदेश र ७७ जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको जानकारी दिए । “यो सम्मेलन दलित मुक्तिको आन्दोलनमा ऐतिहासिक कोसेढुङ्गा बन्नेछ,” उनले विश्वास व्यक्त गरे ।

सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र २०७२ को संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दै नयाँ वैचारिक र आन्दोलनकारी दृष्टिकोण आवश्यक रहेको बताए। अर्का सदस्य तारासिंह विकले यो सम्मेलनले ६० लाख दलित समुदायलाई एकताबद्ध गर्ने आधार तय गर्ने बताए ।

सचिवालय सदस्य तथा अधिवक्ता निर्मला परियारले विभिन्न अभियान र संस्थाले दलित उत्पीडनविरुद्ध काम गरे पनि अपेक्षित परिणाम नआएको उल्लेख गर्दै गोलमेच सम्मेलनले नयाँ निकास दिने अपेक्षा व्यक्त गरिन् । यस्तै, आयोजक समिति सदस्य मनोज रामले तराई क्षेत्रमा दलित समुदायमाथि व्यापक अन्याय भइरहेको र हालैका दिनमा दलितका घरहरू डोजरले भत्काइएको जस्ता घटनाले उत्पीडनको चरम रूप देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्