लस एन्जल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जल्समा अवैध आप्रवासीविरुद्धको छापामार कारबाहीको विरोधमा भइरहेको प्रदर्शन नियन्त्रण गर्न २ हजार नेसनल गार्ड तैनाथ गर्ने आदेश दिएका छन् । शुक्रवार र शनिवार लस एन्जल्सको प्यारामाउन्ट क्षेत्रमा आप्रवासन तथा भन्सार सेवा (आईसीई) र प्रदर्शनकारीबीच झडप भएको थियो ।

प्रहरीले भीड तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरेको थियो । यस हप्ता आईसीईले ११८ जनालाई पक्राउ गरेको छ, जसमध्ये ४४ जना शुक्रवार पक्राउ परेका थिए । ट्रम्पका सीमा सल्लाहकार टम होमनले फक्स न्यूजमा भने, “हामी लस एन्जल्सलाई सुरक्षित बनाउँदैछौं ।”
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले यो कदमलाई “क्रूर” र “भड्काउ” भन्दै आलोचना गरेका छन् । शनिवार उनले ट्रम्पसँग ४० मिनेट कुराकानी गरे पनि विवरण सार्वजनिक गरिएको छैन । ट्रम्पले ट्रुथ सोसलमा लेखे, “यदि गभर्नर न्यूसम र मेयर करेन बासले काम गर्न सक्दैनन् भने, सङ्घीय सरकारले दङ्गा र लुटपाटको समस्या समाधान गर्नेछ ।”
लस एन्जल्सकी मेयर बासले छापाले समुदायमा त्रास फैलाएको बताएकी छन्। प्यारामाउन्टमा स्थिति केही शान्त भए पनि तनाव कायम छ ।










