Logo
Logo

पटक–पटकको ‘डेमो’ले सशस्त्रमा निम्तिएको दुर्घटना


19.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन र उद्धारका लागि ‘डेडिकेटेड’ फोर्स बनाउने भने पनि कमजोर तालिम दिने र डिआइजीको आफ्नो लहडमा काम देखाउने हुँदा दुर्घटना हुन थालेको छ । सशस्त्र प्रहरीको सशस्त्र प्रहरीका गोताखोर हरदेव राजवंशी र सुरज साउदको दुःखद निधन पनि यसैको परिणाम हो । नदीभित्र फसेका जनधन कसरी खोज्ने वा उद्धार गर्ने भनेर सप्तकोसी नदीमा डेमो (नक्कली अभ्यास) देखाउने क्रममा उनीहरुले ज्यान गुमाए ।

शनिबार कोशी प्रदेशका मूख्यमन्त्री हिक्मत कार्की र मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलगायत मन्त्री र उच्च प्रशासकहरूको उपस्थितिमा सप्तकोसीमा डेमो देखाउने कार्यक्रम थियो । केही दिनदेखि जारी अभ्यास बिहीबार सकिँदै थियो ।

त्यसपछि उनीहरू मुख्यमन्त्रीका अगाडि सप्तकोसीमा हेलिएर देखाउने तयारीमा थिए । बिहीबार दिउँसो ३ तिर ५ जना गोताखोरसहितको टोली अभ्यासपछि फर्किने तयारीतिर लागिसकेको थियो तर उनीहरु फेरी नदीमा पसे । त्यसपछि कहिल्यै नफर्किने गरी अस्ताए ।

ज्यान जानेगरी भएको यो घट्नामा सशस्त्र प्रहरीले कमजोरी स्वीकार गर्न सकिरहेको छैन । अहिले पूर्वी प्रदेश बल वराह बाहिनीको कमाण्ड डिआइजी कुमार न्यौपानेले सम्हालेका छन् । उनी केन्द्रीय प्रवक्ता पनि थिए । उनले कमाण्ड सम्हालेपछि यो दुःखद घट्ना भएको थियो । तयारी गर्ने क्रममा राम्रोसँग प्रशिक्षण पुगे नपुगेको जाँच गर्न सकेनन । कमाण्डरहरुलाई राम्रोसँग तयारी पूरा गर्न दिएनन वा हतारमा भीभीआइपीलाई देखाउन प्रशिक्षणलाई रोकेका थिए भन्ने खुलेको छैन ।

यसअघि अञ्जनीकुमार पोखरेलले कोशी प्रदेशको प्रमुख हुँदा पनि कोशीमा डेमो देखाउने क्रममा डुंगा पल्टेको थियो । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनमा डुंगा दुर्घटना भइ घाइते भएका थिए ।

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनमा रिपोर्टिङको लागि प्रदेश सरकार र सशस्त्र प्रहरीको निम्तोमा पुगेका पत्रकारहरु सवार डुङ्गा २०८० कार्तिक १७ गते सप्तकोशीमा दुर्घटना भएको थियो । डुङ्गा दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो ।

त्यतिबेला दुर्घटनामा कान्तिपुरकर्मी महाप्रसाद खतिवडा, देवनारायण साह र शम्भु पोखरेल रेडियो नेपालका कुमोद अधिकारी, जितेन्द्र ठाकुर, उदयपुरका स्थानीय सुशील सेढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका थिए । पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएको थियो ।

सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले क्षतिपूर्ति दिने भनेर सामसुम पारिएको थियो । अहिले पनि यस्तै अवस्था आउन लागेको सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।

मधेसमा ढकालको उल्टो नीति
मधेस प्रदेशका आठ वटै जिल्लाको कमाण्ड गर्न पुगेका डिआइजी कृष्ण ढकाल तस्करी नियन्त्रण गर्न छाडेर उल्टो बाटो हिड्न थालेका छन् । प्राकृतिक प्रकोप हुनसक्ने भन्दै तस्करी नियन्त्रण गर्नुभन्दा विपद स्वंयसेवक दस्ता बनाउन कुदिरहेका छन् ।

कार्यभार सम्हालेकै दिनदेखि डिआइजी ढकालले सबै प्रहरी अधिकारी तथा सुरक्षाकर्मीलाई निर्देशित गर्दै भनेका थिए, ‘आफ्नो कर्तव्यमा कमजोरी गर्नेलाई कुनै छुट छैन । नागरिकको सम्मान र सुरक्षालाई केन्द्रमा राखेर निष्पक्ष, इमानदार र अनुशासित तरिकाले काम गर्नु आजको आवश्यकता हो ।’ उनले नागरिकसँग सहकार्यमा काम गर्नुपर्ने, तर अपराध, भ्रष्टाचार र तस्करीजस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोड्ने चेतावनी दिएका दिए ।

डिआइजी ढकालले पर्सा, बारा र रौतहटका विभिन्न सीमावर्ती क्षेत्रहरूको अनुगमन समेत गरे । उनले आफैँ स्थलगत अनुगमन गरे । सशस्त्र प्रहरी बललाई करछली, तस्करी, आपराधिक गिरोह र अवैध क्रियाकलापहरूविरुद्ध शून्य सहिष्णुता नीति लागू गर्न निर्देशन दिइसकेका ढकाल धनुषाको मैनाथपुर नपुगी ‘डिजाष्टर भोलेन्टिर’ (विपद् स्वयंसेवक) तयार पार्ने भन्दै हिडेका छन् । धनुषाको मैनाथपुर तस्करीका लागि चर्चित नाका हो । तस्करी नियन्त्रण भन्दा ‘डिजाष्टर भोलेन्टिर’मा ध्यान दिएका छन् । उनले सबैको ध्यान ‘डिजाष्टर भोलेन्टिर’मा मोडेर तस्करीलाई छुट दिने निति लिएका हुन कि आशंका उत्पन्न भएको सशस्त्र प्रहरी बलका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्