Logo
Logo

प्रधानमन्त्रीकै तहबाट हस्तक्षेप


2.6k
Shares

काठमाडौं । मुलुकको पूर्वाधार ठूलो बजेट परिचालन हुने भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा धेरै काम सटाकसुटुक हुन थालेका छन् । आयोजना प्रमुखहरुको सरुवा, इन्जिनियरहरुको सरुवा तथा कर्मचारी प्रशासनमा काम गर्ने कर्मचारीहरुको सरुवा सटाक सुटुक मिलाउन थालिएको छ ।

सिनियरलाई जुनियर कर्मचारीले कमाण्ड गर्ने गरी सरुवा गर्न थालिएको छ । अझ भनौ मन्त्रीलाई मनपरेकालाई मात्र सरुवा गर्ने वा प्रधानमन्त्री निवासको रुचीमा मात्रै सरुवाको फाइल अघि बढाउन थालिएको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयमा कर्मचारी सरुवा हुनुलाई खास अनौठो मानिदैन । आकर्षक विभाग र कार्यालयमा कर्मचारी पठाउन लाखौ रुपैयाको चलखेल हुने विषय पनि नयाँ होइन । एमाले नेतृत्वको सरकार आएपछि एमालेकै भागमा सो मन्त्रालय परेकाले केही सुधार हुने अपेक्षा पनि गरिएको भएपनि कम्मल ओढेर घिउ खाने प्रवृत्तिको झन मौलाएको छ ।

विगतमा रघुवीर महासेठले मन्त्रालय सम्हाल्दा भद्रगोल भएको भन्दै आलोचना भएपछि यसपटक झापाका देवेन्द्र दाहाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइयो । तर उनले मन्त्रालय राम्रोसँग सम्हाल्न सकेनन । त्यहाँका कर्मचारीहरु भन्दा जुनियर मन्त्री परेकाले सहसचिव, सचिवले सहजै टेर्ने अवस्था छैन ।

चालु आर्थिक वर्ष २०८१–८२ सकिनै लाग्दा १ खर्ब ७ अर्ब वजेट भएको सडक विभागमा नेतृत्व फेरिदिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल प्रधानमन्त्रीको नीजि सचिवालयलाई जानकारी दिएर विभागका महानिर्देशक रामहरि पोखरेललाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा डा. विजय जैशीलाई ल्याएका हुन् । जैशीले गत हप्ता नै कार्यभार सम्हालेका छन् । जैशी यसअघि विभाग मातहत बैदेशिक महाशाखाको महाशाखा प्रमुख थिए ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री दाहालकै चाहनामा विभागमा महानिर्देशक फेरिएका हुन् । यो विषयमा एमाले निकट कर्मचारी संगठनलाई समेत जानकारी थिएन । ‘विभागको महानिर्देशक फेर्ने विषयमा पहिला सल्लाह हुने गथ्र्यो, राम्रो कर्मचारीलाई ल्याउने र भौतिक पूर्वाधारको बजेटलाई सही परिचालन गर्ने र कामलाई चुस्त बनाउनसक्ने कर्मचारी आवश्यक छ भनेर हामीले भनेका थियौ, पोखरेल सरको काममा चित्त बुझेकै थियो, उहाँ काममा विश्वास गर्ने भएकाले माथिल्लो तहका केही कामहरुलाई मान्नु भएन होला, सरुवा गरिदिएछन्’, एमाले निकट कर्मचारी संगठनका एक कर्मचारीले दृष्टिसँग भने ।

भौतिक सचिव केशव शर्मालगायत केही उच्च कर्मचारीहरूले आर्थिक वर्ष सकिने बेला विभागमा नेतृत्व फेर्न सल्लाह दिएको स्रोतको दावी छ । यो विषयमा प्रधानमन्त्रीसँग पनि परामर्श गरेको हल्ला गरिएको दावी छ ।

मन्त्री दाहालको सचिवालयमा कार्यरत एक कर्मचारीले भने कामको गति देखाउन आर्थिक वर्ष सकिनै लाग्दा महानिर्देशक परिवर्तन गर्नु परेको बताए मन्त्री दाहालले निवर्तमान महानिर्देशक पोखरेललाई मन्त्रालयमा सरुवा गरेका छन् । हाल योजना महाशखाामा कार्यरत उपमहानिर्देशक उमेश विन्दु श्रेष्ठलाई मन्त्रालयमा लगिएको छ । जैशीभन्दा उमेशविन्दु वरिष्ठ भएकोले कनिष्ठको मातहतमा वरिष्ठ बस्न नमिल्ने कारण देखाउँदै उमेश विन्दुलाई मन्त्रालयमा सरुवा गरिएको छ ।

डा. जैशीको ठाउँमा हाल सम्भार महाशाखामा कार्यरत अर्जुन अर्याललाई लगिएको छ भने उमेश विन्दुको ठाउँमा मन्त्रालयबाट प्रभात झालाई लगिएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत सपुरिटेडेण्ठ इञ्जिनियर (सहसचिव सरह)मध्ये पहिलो नम्बरमा भिमार्जुन अधिकारी, दोस्रोमा सुशील बाबु ढकाल, तेस्रोमा रामहरि पोखरेल, चौथौमा उमेश विन्दु श्रेष्ठ, पाँचौमा भुवन अधिकारी (मेकानिकल) तथा छैटौ नम्बरमा वनमा नियुक्त डिजी जैशी कार्यरत छन् । जैशी र प्रभात झा एउटै व्याचका कर्मचारी हुन् ।

छैटौ नम्बरमा जैशी महानिर्देशक भइसक्दा पनि पहिलो नम्बरका सहसचिव अधिकारीले भने अहिलेसम्म सडकको महानिर्देशक बन्ने अवसर पाएका छैनन् । विभागले अहिलेसम्म विनियोजित बजेटको ५० प्रतिशतपनि खर्च गर्न सकेको छैन । आर्थिक वर्षको बाँकी डेढ महिनामा एकै पटक ठुलोमात्रामा बजेट खर्च हुँदैछ । अहिले सबैभन्दा बढी बजेट ल्याउने काम भने उनै पोखरेलले गरेका थिए । ‘बजेट ल्याए, सम्झौता गर्ने बेलामा हटाए’, मन्त्रालयका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्