Logo
Logo

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव


252
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित वृन्दावन सामुदायिक (छाडा) चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माणको कार्य हुन सकेको छैन ।

व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन । “बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,” वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “बजेट अभावले बन्न सकेको छैन, व्यवस्थापन केन्द्रमा रहेका चौपायाको मल एकातर्फ र मूत्र अर्कोतर्फ जम्मा हुने गरी निर्माण हुने संरचना निर्माण गर्न सकेका छैनौँ ।” 

उनका अनुसार व्यवस्थापन केन्द्र नजिकै किरियापुत्री घर निर्माण गर्ने योजना रहेको छ । “गाईको गोबर, गहुँत सहजै उपलब्ध हुने र नजिकै नदी भएकाले किरिया पुत्रीलाई सहजता हुन्छ, त्यही भएर किरियापुत्री घर निर्माण गर्ने योजना बनाएका छौँ, यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौँ”, उनले भने ।

नदीले व्यवस्थापन केन्द्रको जग्गा बर्सेनि भू–क्षय गरी बगाउँदै आएकाले भरपर्दो तटबन्धको आवश्यकता भएको उनले बताए । नगरपालिकाबाट प्रत्येक वर्ष विनियोजन हुने रु ३० लाख बजेट व्यवस्थापन केन्द्रमा राखिएका चौपायाको दानापानी, पराल, ब्रान, नुनसँगै गौसेवकको तलबमै बजेट सिद्धिने गरेको उनले बताए ।
 
केन्द्रमा आठजना गौसेवक कार्यरत रहेका छन् । व्यवस्थापन केन्द्रमा रु तीन करोड ५० लाखका सङ्घीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना निर्माण गरिएका छन् । चारवटा पक्की गाईलगायतका चौपाया बाँध्ने गोठ, दुईवटा चारोलगायत सामग्री राख्नका लागि निर्माण गरिएका गोदाम घर, एक आवाससहितको कार्यालय भवन, समरसेल, स्यालो ट्युबेल जडान गरिएको छ । योसँगै पाँचवटा अटोजन नल्का, चारवटा सौर्यबत्ती, दुईवटा सिसी क्यामेरा र डेढ किलोमिटर क्षेत्रमा तारवार जडानको कार्य गरिएको छ ।
 
माछापोखरी निर्माण गरी माछापालनको कार्यसमेत गरिएको छ । चौपाया व्यवस्थापन केन्द्रलाई कृषि र पशुपालनको नमुना क्षेत्रका रूपमा विकसित गरी पर्यापर्यटनसँग जोड्नुपर्ने समाजसेवी हबलदार चौधरी बताउँछन् । “व्यवस्थापन केन्द्र नजिकै पुरानै ताल छ”, उनले भने, “व्यवस्थापन केन्द्र अवलोकन गर्न आउने आगन्तुकलाई घुमाउन सकिन्छ, यसका लागि डिपिआर निर्माण गरी योजनाबद्ध रूपमा कार्य अगाडि बढाउन आवश्यक छ ।” पालिका र प्रदेश सरकाले समन्वय गरी कार्य अगाडि बढाउनुपर्ने उनको सुझाव छ । 
 
सामुदायिक चौपाया व्यवस्थापन केन्द्र पाँच हेक्टर जग्गामा फैलिएको छ । गौशालामा रहेका चौपायालाई खुवाउनका लागि १० कट्ठा जग्गामा घाँस खेती गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्