
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेपछि राजनीतिक वृत्त तरंगित छ । कसैले यस घटनालाई पूर्वाग्रह ठानेका छन् भने कसैले आश्चर्य व्यक्त गरेका छन् । किनभने, यो देशमा माधवकुमार नेपाल जस्तो निष्कलंक नेतामाथि भ्रष्टाचारको आरोप लाग्छ भन्ने कुरामा कसैलाई विश्वास थिएन ।
माधव नेपालजस्तो निष्कलंक नेतामाथि मुद्दा लाग्छ भने बुझे हुन्छ अरू कोही पनि नेता भ्रष्टाचारबाट अछुतो छैनन् । मात्र ती नेताहरूमाथि पनि अख्तियारले छानबिन गर्ने आँट ग¥यो भने विभिन्न काण्डमा चर्चामा आउने गरेका चाहे पूर्वप्रधानमन्त्री होउन्, चाहे बहालवाल प्रधानमत्री, मन्त्री नै किन नहुन्, तिनीहरू सबै जेल जाने निश्चित छ ।
२०४८ सालदेखि अहिलेसम्म प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र माधवकुमार नेपाल मात्र निष्कलंक नेतामध्येमा पर्छन् । यी नेताको नियत सफा भएका कारण कसैले औँला उठाउने आँट गर्दैनन् । माधवकुमार नेपाल अनुशासनमा कडा स्वभावका नेता हुन् । नेकपा एमालेको महासचिव हुँदादेखि अहिलेसम्म उनको गतिविधि हेर्ने हो भने कसैले पनि उनको स्वच्छ छविमाथि औला ठडाउने आँट गरेका छैनन् ।
तिनै नेतामाथि सतिले सरापेको देशमा कलंकको टिका लगाउने दुष्प्रयास भएको छ । अदालत प्रवेश गरिसकेको यस प्रकरणको छिनोफानो पक्कै पनि अदालतले गर्ला नै, तर अफताव आलमलाई जेलमुक्त गर्ने अदालतबाट नेता नेपालले न्याय पाउलान् भन्ने झिनो आशा मात्र किन बाँकी छ भने नेपाल माथिको आरोप ‘सेटिङ’मा उनको राजनीतिक भविष्य समाप्त पार्ने बदनियतबाट भएको छ । नेता नेपाललाई यसअघि पनि ललिता निवास जग्गा काण्डमा फसाउन नखोजिएको होइन, तर प्रमाणको अभावमा त्यस प्रकरणबाट आजसम्म उनी जोगिएका छन् ।
पताञ्जली जग्गा प्रकरणबाट के कुरा प्रष्ट भएको छ भने राज्यले फसाउन चाह्यो भने फेरि पनि उनी ललितानिवास लगायत अन्य प्रकरणमा जोडिन सक्छन् । ‘नबिराउनु, नडराउनु’ यो शब्द माधवकुमार नेपालकै हो । अख्तियारसँगको बयानमा पनि उनले कुनै कुरा नलुकाई सबै प्रस्टसँग बताएका छन् । जहाँसम्म अख्तियारले मन्त्रिपरिषदले गरेको निर्णय भनेर नेपालमाथि पतञ्जली जग्गा काण्डमा मुछ्न खोजेको छ, त्यसमा कुनै दम छैन । अख्तियारले नेपालमाथि जति आरोप थोपरे पनि उनको नियत सफा छ भन्ने कुरा अख्तियारमा उनले दिएको बयानबाटै स्पष्ट हुन्छ ।
भ्रष्टाचार भन्ने कुरा मानिसको नियत र स्वार्थसँग जोडिएको हुन्छ । पतञ्जली जग्गा काण्डमा नेपालले स्वच्छ हृदयले नै सहयोग गर्न खोजेको देखिन्छ । तर, उनले गरेका निर्णयहरू माथि कुन कुन भूमाफियाले चलखेल गरेर नेपाललाई फसाउन खोजे, त्यो बेग्लै पाटो हो । र, त्योसँग जोडेर नेपालले भ्रष्टाचार गरे भन्न मिल्दैन । यो पाटोको छुट्टै अनुसन्धान हुनुपर्छ ।
यस प्रकरणसँग जोडिएर आएको मुख्य विषय भनेको अख्तियारले मन्त्रिपरिषदले गरेको निर्णयमाथि अनुसन्धान गर्न पाउने कि नपाउने भन्ने नै हो । यदि, अख्तियारको ऐनले अख्तियारलाई त्यो अधिकार दिएको छैन भने अख्तियारलाई त्यो अधिकार कसले दियो र मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारले हात हाल्यो ? यसको उत्तर न्यायालयले अवश्य दिने छ । किनभने, मन्त्रिपरिषदको निर्णयमाथि प्रश्न उठाउन नपाउने अख्तियारले पूर्वप्रधानमन्त्रीको हैसियतले नेपालमाथि मुद्दा चलाउनु नै सर्वथा गलत छ ।