पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले विदेशी सरकार प्रमुखसरहको सम्मानका साथ स्वागत ग¥यो । चीनले भण्डारीलाई सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले बेइजिङमा भव्य स्वागत मात्रै गरेनन्, राजकीय स्तरको आवासगृह ‘दियाओथाई’ मा राख्यो भने सुरक्षा र आतिथ्यमा पनि विदेशी राष्ट्रप्रमुखसरहको व्यवहार ग¥यो । एमाले नेता र सरकारका मन्त्रीसमेत सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारी भर्खरै स्वदेश फर्किएकी छिन् । चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति हान चेङसहितसँग महत्त्वपूर्ण र उच्च तहको भेटवार्तासमेत गरिन् ।

भण्डारीलाई एमालेको भावी नेतृत्वकै रूपमा स्विकारेर चीनले उच्च महत्त्व दिएको विश्लेषण पनि भइरहेको छ । कतिपयले भण्डारीको नेतृत्वमा वामपन्थी एकता हुने जिकिर पनि गर्दै आएका छन् । पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण, उनको अबको राजनीतिक बाटोलगायतका विषयमा भण्डारीसँग चीन गएर फर्किएका एमालेका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री कर्ण थापासँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण कस्तो रह्यो ?
एउटा छिमेकी मित्रले अर्को छिमेकी मित्रलाई जति सम्मान दिन मिल्थ्यो, त्यति सम्मान दियो । त्यो हाम्रो देशका लागि उच्च महत्वको सम्मान थियो । त्यति मात्रै होइन, यस भ्रमणलाई राजनीतिक महत्त्व पनि दियो । दुई देशबीचको र दुई पार्टीबीचको सम्बन्धलाई पनि पुनः नविकृत गर्ने ढंगले पनि महत्त्व दियो । र, अबको दुनियाँ कसरी अगाडि बढ्छ ? अबका हाम्रा नयाँ सम्बन्धहरू कस्ता हुन्छन् ? हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा पनि विगत, वर्तमान र भविष्यलाई ध्यानमा राखेर भ्रमणलाई उच्च महत्त्व दियो ।
पूर्वराष्ट्रपति भण्डारीले भ्रमणको क्रममा केमा जोड दिनुभयो ?
चीनसँग पहिलेदेखि कै हाम्रो सम्बन्ध, जो पौराणिक कालदेखिको छ । त्यसलाई अहिलेको समयअनुसार अगाडि बढाउनुपर्छ । हामी घनिष्ठ मित्र हौँ, छिमेकी हौँ । चीनजस्तो विशाल अन्तर्राष्ट्रिय शक्तिको रूपमा विकास भएको देशसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौँ भन्ने कुरा प्रमुख भयो ।
दोस्रो, नेपाल त भूपरिवेष्ठित छ । भूजडित बनाउनुपर्छ भनेर चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणको क्रममा भन्नुभएको थियो । चीनको बाटो भएर हामी समुन्द्रसम्मको पहुँच बनाउन सक्छौँ । पारवहानसम्बन्धी सम्झौताहरू भएका छन् । क्रश बोर्डर ट्रान्समिसन लाइनको सम्झौताहरू भएका छन् । बिआरआई सम्झौता भएको छ । त्यससँग सम्बन्धित अरू सम्झौताहरू पनि भएका छन् । तिनीहरूको पनि सहज कार्यान्वयन अगाडि बढ्नुपर्छ भन्ने कुरा भए । सौहार्दपूर्ण रूपमा खुलस्त कुरा भयो । त्यसलाई उहाँहरूले सकारात्मक ढंगले ग्रहण गर्नुभयो ।
चिनियाँ पक्षको चासो चाहिँ केमा थियो ?
चिनियाँ पक्षको पनि नेपाल र चीनको बीचमा जुन राम्रो सम्बन्ध छ, त्यो सम्बन्ध अझ गाढा बनोस्, विश्वासपूर्ण बनोस् भन्ने छ । चीनले अहिले नयाँ कुरा के गरेको छ भने, हामी विश्वको शक्तिशाली राष्ट्र हुनुको नाताले हामी हाम्रो राष्ट्रिय स्वार्थ मात्रै हेर्दैनौँ । हामी हाम्रो छिमेकमा रहेका, हाम्रो क्षेत्रसँग जोडिएका र संसारमै पछाडि परेका देशहरू छन्, हामीले आफ्नो राष्ट्रिय स्वार्थमा मात्रै काम गर्ने होइन, अरूको स्वार्थलाई पनि हामीले हेर्नुपर्छ । अरूको भावनालाई पनि हामीले बुझ्नुपर्छ । र, त्यसका निम्ति सहयोग गर्नुपर्छ भनेर चीनले विश्व मानवता र विश्व शान्तिको कुरा गरेको छ । यस कुरामा चीन उदार भावका साथ अगाडि बढेको पाइयो ।
बिआरआईको सन्दर्भमा के छलफल भयो ?
नेपाल र चीनबीच बिआरआई लगायतका सहमति भएका छन् । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले विगतमा नाकाबन्दी पनि बेहोर्नुप¥यो । बिआरआई परियोजना अन्तर्गत नेपाललाई भूजडित बनाउन सकिन्छ । चीनको नेतृत्व त्यसलाई अगाडि बढाउन सकारात्मक छ । सामरिक हिसाबले, अर्थतन्त्रको हिसाबले, विज्ञान प्रविधि, भौतिक प्रगतिको हिसाबले चीनले ठूलो चमत्कार गरेको छ । त्यसबाट नेपालले फाइदा लिनुपर्छ । नेपालमा विकास निर्माणका थुप्रै काम गर्नुपर्ने छ । विकर्सित देशबाट हामीले सहयोगको सम्बन्धको नीति लिएका छौँ । हाम्रा मागबाट विकसित देशका नीति परिवर्तन हुँदैनन् । हामीले दुवै छिमेकी चीन र भारत तथा अन्य मित्र शक्तिसँग हाम्रो हितअनुकुल हुने गरी सहयोग लिनुपर्छ ।
भण्डारी नेतृत्वको भ्रमण दलमा सरकारका मन्त्रीदेखि एमालेका नेतासम्मको सहभागी रह्यो । यो भ्रमण पूर्वराष्ट्रपतिको रूपमा हो कि एमालेको नेताको रूपमा ?
विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति हो नै । त्यसमा विवाद गर्ने कुरा भएन । उहाँ एमालेको नेता हिजो पनि हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ । र, नेपालका वरिष्ठतम राजनीतिज्ञमध्ये एउटा वरिष्ठतम व्यक्ति उहाँ हो । अहिलेसम्म उहाँले निर्वाह गरेका जिम्मेवारी र क्षेत्र यिनै हुन् । यि सबै जिम्मेवारीको प्रतिनिधित्व गरेर उहाँ चीन भ्रमणमा जानुभएको हो । सोहीअनुसार छलफल भयो । चीनले त जुनसुकै कम्युनिष्ट पार्टीको नेता चीन गयो भने पनि वामपन्थी मिल्नुस्, एकतावद्ध हुनुस्, कम्युनिष्टको ठूलो जनमतको सम्मान गर्नुस् भन्छ ।
कतिपयले छरिएर रहेका वामपन्थीहरूलाई एकजुट गराउन सक्ने पात्रको रूपमा भण्डारीलाई हेर्ने गरेका छन् नि । कम्युनिष्टहरू एक हुन भन्ने चीनको पनि चाहना छ । त्यही कारणले चीनले भण्डारीलाई उच्च महत्त्व दिएको हो कि ?
चीन विचारधाराका हिसाबले कम्युनिष्ट पार्टीले सत्ता सञ्चालन गरिरहेको देश हो । चिनियाँ र नेपालका कम्युनिष्ट पार्टीहरूको पहिलेदेखि नै विचारधारात्मक सम्बन्ध छ । त्यसका साथसाथै नेपाल र चीनबीच देश–देशको सम्बन्ध पनि छ । चीनले फेरि हाम्रो आन्तरिक राजनीतिमा हस्तक्षेप पनि गर्दैन । नेपालको राजनीति कसरी अगाडि बढाउने भन्नेबारे नेपालकै राजनीतिक पार्टीहरूले सोचुन, त्यसमा नेपालका पार्टी सार्वभौम छन्, स्वतन्त्र छन् र हाम्रो कुनै हस्तक्षेपकारी नीति हुँदैन भन्ने चीनको प्रस्ट मान्यता छ । त्यसकारण पार्टीभित्र त चीनले चासो राख्ने कुरै भएन । एमालेको नेतृत्व कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा त एमालेले सोच्ने कुरा हो । विधि र विधानले र एमालेको नेतृत्व सोच्ने विषय हो । चीन भ्रमणसँग त्यसको कुनै सम्बन्ध छैन ।
पूर्वराष्ट्रपति भण्डारीकै नेतृत्वमा सबै वामपन्थी दलहरूलाई एकताबद्ध बनाउने अभियान पनि हो कि ?
नेपालको कम्युनिष्ट आन्दोलनमा लागेका हर कोही व्यक्तिको एउटा अभिभारा रहँदै आएको छ, नेपालमा धेरै कम्युनिष्ट पार्टीहरू छन् । कम्युनिष्ट जनमत छ । कम्युनिस्टहरूलाई माया गर्ने जनताको पङ्क्ति छ । त्यो छिन्नभिन्न छ । विभिन्न भागमा बाँडिएको छ । तिनीहरू एक भएर अगाडि बढ्नुपर्छ भनेर विगतदेखि नै कोसिस भएका छन् । पुष्पलालले नै कम्युनिष्ट पार्टी स्थापना गरेर त्यो कोसिस गर्नुभयो । पछि, विभिन्न कारणले धेरै कम्युनिष्ट पार्टी बने ।
कम्युनिष्ट एकताका लागि मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, मोहनविक्रम सिंह, मदन भण्डारीलगायतले पनि निकै कोसिस गर्नुभयो । एमाले थुप्रै कम्युनिष्ट पार्टीहरूका समूह मिलाएर बनेको विशाल पार्टी हो । माओवादी पनि अनेक समूहको एकता गरी आएको हो । पछिल्लो अवधिमा एमाले र माओवादी पनि एक भए । अनेक कारणले गर्दा फेरि विभाजन भयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्नका निम्ति गरिएका प्रयासहरू पूर्ण रूपमा सफल भएको छैन । हामी सबैको दायित्व हो, त्यसका निम्ति कुनै न कुनै नेता अहिले साझा रूपमा सबैले सहज स्वीकार गर्ने पात्रको खोजी भइरहेको छ । त्यसमध्येको एउटा सबैले मान्ने र सबैले स्वीकार गर्न सक्ने पात्र विद्यादेवी भण्डारी हुनुहुन्छ ।
आगामी महाधिवेशनबाट भण्डारी अध्यक्ष बन्ने माहौल बन्दै गएको हो ?
एमालेभित्र धेरै ठूलो जनमतले उहाँ (विद्या भण्डारी)लाई आउनुस्, अहिलेका समस्या, संकटलाई समाधान गर्नुस् र तपाईँ अगाडि बढ्नुस् भनेर भनिरहेको स्थिति छ ।
अहिलेको अध्यक्ष ओलीले कुन रूपमा लिनुहुन्छ भन्ने पनि होला नि ?
अध्यक्ष ओलीले त्यसलाई सकारात्मक रूपमा नै लिनुहुन्छ, लिइरहनु पनि भएको छ । पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीका बीचमा सहमति र समझदारीले नै सबै कुराको समाधान हुन्छ । उहाँहरूले सहमतिपूर्वक एमालेको भविष्य सुरक्षित गर्नुहुनेछ । साथसाथै, वामपन्थी आन्दोलनलाई अगाडि बढाएर लाने कुरामा सहमति हुन्छ भन्ने मलाई लाग्छ ।
तर, पार्टीको जिल्ला अधिवेशन होस् या प्रदेश अधिवेशन वा युवा संघको महाधिवेशन नै किन नहोस् । त्यसमा प्यानलगत प्रतिस्पर्धा देखियो । यी घटनाक्रमले पार्टी भित्रैबाट सहमति त्यति सहज छैन भन्ने देखाउँदैन ?
जनताको बहुदलीय जनवादले पार्टीको लोकतान्त्रीकरणमा जोड दिन्छ । हाम्रो पार्टीको नेतृत्व निर्माणको सवालमा सके सहमति, नभए खुला प्रतिस्पर्धा भनेकै छौँ । त्यो अभ्यास विगतमा गर्दै आएका हौँ । बीचको एउटा अवधिमा पार्टी निर्माणको निम्ति प्रतिस्पर्धामा केही अप्ठेरो सिर्जना गर्न सक्छ, पार्टी बचाउनुपर्ने बेला छ भनेर बढी सहमतिमा जोड दियौँ । त्यो बेला प्रतिस्पर्धा भएन । त्यही चाहिँ जबजको मूल मान्यता हो भनेजस्तो गरेर लैजान खोजियो । जबजको मान्यताअनुसार हामीले स्वच्छ प्रतिस्पर्धालाई मान्यताको रूपमा ग्रहण गरेका छौँ । त्यसलाई अहिले विद्या भण्डारी र केपी ओलीबीचको द्वन्द्व भनेर परिभाषित गर्नु उचित हुँदैन ।
भनेपछि ओलीकै प्रस्ताव वा समर्थनमा भण्डारी एमालेको आगामी अध्यक्ष बन्ने सम्भावना प्रबल छ भनेर बुझ्दा हुन्छ ?
प्रबल सम्भावना त्यो छ । त्यसमा उहाँहरूको बीचमा गहिरो छलफल पनि भइरहेको छ । र, अहिले पार्टीको जुन समस्या र संकट छ, त्यसको समाधान दिने प्रमुख दायित्व पनि पार्टी अध्यक्षको हो । त्यो उहाँले दिनुहुन्छ । भण्डारी र ओलीबीच कुनै दुबिधा, द्वन्द्व, विवाद छैन । आगामी महाधिवेशनमा टक्कर पनि हुँदैन । एमालेभित्र साझा व्यक्तित्व चाहिन्छ । अहिले ओली हो, अब भण्डारी नै हो ।
समाधान कसरी दिने भन्ने केही रोडम्याप छ ?
उहाँले त्यसलाई सोचिराख्नुभएको छ । पार्टीको शीर्ष नेतृत्वको बीचमा छलफल भएर समाधान दिनुपर्छ । त्यो कुरा उहाँहरूलाई थाहा छ ।
त्यसो हो भने ओलीले अब फेरि अध्यक्षमा दाबी गर्नुहुन्न ?
विद्या भण्डारीले अध्यक्षमा दाबी गर्नु हुन्छ कि हुन्न भन्ने समय आएकै छैन । ओलीले म फेरि अध्यक्ष हुन्छु पनि भन्नुभएको छैन, हुन्न पनि भन्नु भएको छैन । व्यक्ति केन्द्रित भएर भन्दा पनि विधिमा टेकेर जानुपर्छ । हाम्रो विधानको व्यवस्था ७० वर्ष उमेरहद भन्ने छ । कार्यकारी प्रमुख दुई कार्यकाल मात्रै हुने भनिएको छ । त्यो हामीले किन गरेका थियौँ भने, नेपालको कम्युनिष्ट आन्दोलनमा नेतृत्वको सहज हस्तान्तरण पनि नहुने, बहिर्गमन गर्न पनि गाह्रो हुने, नयाँ नेतृत्व ल्याउन पनि अस्वस्थताको स्थिति हुने भएकाले विधानमा व्यवस्था गर्दा सहज ढंगले नेतृत्व नयाँ आउँछ र अहिलेको नेतृत्व पनि सम्मानजनक ढंगले बहिर्गमन हुन्छ भन्ने मान्यता हो । त्यसमा टेकेर अगाडि बढ्दा व्यक्तिव्यक्तिमा गइराख्नु पर्दैन ।
७० वर्ष उमेरहदसहित कार्यकारीमा दुई कार्यकाल मात्र रहने भन्ने विषय पनि हटाउने गरी विधान संशोधनको निर्णय एमालेले गरिसकेको छ नि होइन ?
त्यस्तो छलफल गर्ने हाम्रो दुईटा निकाय छन्, एउटा विधान महाधिवेशन, अर्को राष्ट्रिय महाधिवेशन । त्यसले मात्रै हाम्रो विधानको व्यवस्थालाई परिवर्तन पनि गर्न सक्छ, यथावत् राख्न पनि सक्छ । त्यो विधान महाधिवेशनका प्रतिनिधिको अधिकार हो ।
राष्ट्रपति भइसकेको सम्मानित व्यक्तित्व पार्टीको अध्यक्ष भइसकेपछि एउटा पार्टीको मात्रै नेता हुनुभयो । विद्या भण्डारीलाई त्यसरी किन खुम्च्याउने भन्ने कुरा पनि सुनिन्छ नि ?
हाम्रो कानुनले, हाम्रो संविधानले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर कही कतै भनेको छैन । अर्को, राष्ट्रपति भनेको स्वयं राजनीतिक पद हो । राजनीतिक जिम्मेवारी नै हो । सभामुख भइसकेका व्यक्ति त्यो अवधिभर पार्टीको सदस्य हुँदैनन्, त्यो अवधि सकिएपछि फेरि सक्रिय भएर आउँछन् । प्रधानमन्त्री कार्यकारी र राष्ट्रपति संवैधानिक भने पनि संविधानले दिएका निश्चित अधिकार प्रयोग गर्न पाउने पदहरू हुन् । ती अराजनीतिक पद होइनन् । भण्डारी निरन्तर रूपमा राजनीतिमै हुनुहुन्थ्यो । अहिले पनि संविधान, कानुन, विधि, विधानले रोकिने, छेकिने, अवैध मान्ने, अराजनीतिक मान्ने स्थिति छैन । आवश्यकता पर्दा उहाँ आउनुहुन्छ । आवश्यकताले नेता बन्ने हो, रहरले होइन, पदीय आकांक्षाले होइन ।
भण्डारी पुनः राजनीतिमा नआई नहुने चाहिँ किन ?
भण्डारी एउटा यस्तो व्यक्ति हो, जो पदीय आकांक्षाले होइन, समय, परिस्थितिको मागले उहाँ नेपालको राजनीतिमा आउनुभयो । मदन भण्डारीको हत्यापछि उहाँ बाध्यताले राजनीतिमा आउनुभएको छ । त्यो बेलामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग चुनाव लडाउने कुरा सामान्य ढंगले पौडी खेलिराखेको मान्छेलाई समुन्द्रको बीचमा धकेलिएजस्तो हो । त्यस्तो स्थिति पार लगाएर आउनुभएको हो उहाँ । राष्ट्रपति हुने बेलामा पनि न हुने परिस्थिति थियो, न उहाँमा राष्ट्रपति हुने इच्छा नै थियो ।
नेपालको राजनीतिमा नयाँ परिस्थिति खडा भयो । उहाँ राष्ट्रपति हुनुभयो । समयको मागले राजनीतिमा आएको उहाँ अलि पृथक व्यक्तित्व हो । ‘अहिले पनि त्यस किसिमको परिस्थिति निर्वाह गर्नुप¥यो भने म तयार छु’ भन्नुभएको छ । कुनै पदीय आकांक्षाको कारणले, पदीय लोभका कारणले उहाँ राजनीतिमा आउनुभएको होइन । जनताको बहुदलीय जनवाद एमालेले अंगिकार गरेको छ । एमालेले पार्टीको नीति र नेतृत्व निर्माण लोकतान्त्रिक प्रक्रियाबाट गर्छ । समस्याको सांगोपांगो समाधान के हुन सक्छ भन्ने खोजी हामी गरिरहेका छौँ । पार्टीको भविष्य, एकता, लक्ष्य र उद्देश्यको जगेर्ना गरौँ भनेर हामी लागेका छौँ ।
अहिलेको सरकारको कामलाई कसरी मुल्याङकन गर्नुभएको छ ?
जुन ढंगले प्रभावकारी काम गर्नुपथ्र्यो, त्यो हुन सकेन । पार्टी र राष्ट्रको काम गर्न पठाइएका मन्त्रीले कसरी काम गरे भन्ने मुल्याङकन हुनुपर्छ । जनताको विश्वास आर्जन भएन भने पार्टी चल्दैन । त्यसले दीर्घकालीन रूपमा पार्टी हानी पु¥याउँछ । सरकारको काम जनताले महसुस गर्ने किसिमको हुनुपर्छ ।
अन्त्यमा, एमालेमा कमरेड कि ‘झोले’ भन्ने बहस पनि चल्यो । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता ‘झोले’ नै हुन त ?
हामी एमालेका कार्यकर्ता हौँ । अरू कुनै चीज हुनुपर्छ भन्ने होइन । लज्जास्पद कामको पछाडि हामी लाग्नु हुँदैन । अनावश्यक बहस गराएर पार्टीलाई फाइदा गर्दैन । हामी एमालेको कर्मठ नेता, कार्यकर्ता बन्ने हो । मूल्य, मान्यतामा रहेर काम गर्ने हो । एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने खेल त भइरहेको छैन भन्ने प्रश्न गर्नुपर्ने स्थिति बनेको छ । एमालेलाई जोगाउन देशभरका कार्यकर्ता चनाखो भएर बसेका छन् । देशभरका नेता तथा कार्यकर्ता झोले होइनन्, विवेक भएका कम्युनिष्ट क्रान्तिकारी योद्धा हुन् ।