काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न सबै विपक्षी दलहरू एकमत रहेको बताएका छन् ।

उनले भने, ‘संघीय संसद्मा रहेका सबै प्रतिपक्षी दलहरू भिजिट भिसामार्फत हुने मानव तस्करीको सङ्गठित अपराधलाई सदाका लागि अन्त्य गर्न छानबिन समिति गठनको पक्षमा एकजुट छन् ।’
यो प्रकरणमा माओवादीले केही लचिलो बन्ने सङ्केत देखाएको थियो । उसले गृहमन्त्रीको राजीनामा नआए पनि छानबिन समिति बनाउने विषयमा सरकारको प्रतिबद्धता खोजेको थियो । तर, अन्य विपक्षी पार्टीहरूले भने गृहमन्त्रीको राजीनामालाई नै बटमलाई बनाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
विपक्षी दलहरूले यस प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् । सत्ता पक्ष र विपक्षीबीच सहमति नहुँदा प्रतिनिधिसभा सुचारु हुन सकेको छैन ।











