काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ । पोखराका ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण जेठ ८ गते सम्पन्न भएको हो । उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए ।

विश्वमै जटिल मानिने यो शल्यक्रियाका लागि नेपाल मेडिसिटीको नेतृत्वमा भारतको अमृता अस्पतालसँगको सहकार्यमा चिकित्सक टोली खटिएको थियो । कलेजो निकाल्ने प्रक्रिया ९ घण्टा र प्रत्यारोपण १३ घण्टा चलेको अस्पतालले जनाएको छ ।
बिरामी कार्कीको कलेजो र मिर्गौलासमेत बिग्रिएको थियो । पेटमा पानी जम्ने, रगत वान्ता हुने र बेहोस हुने समस्याबाट पीडित उनले यसअघि भारत र नेपालका अन्य अस्पतालमा प्रत्यारोपण प्रयास गरेका थिए, तर जोखिमका कारण सफल भएन । मेडिसिटीले भने चुनौती स्वीकारेर सफल शल्यक्रिया गरेको हो ।
अस्पतालका अध्यक्ष डा। उपेन्द्र महत्तोले यो सफलताले नेपालीलाई विदेश धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा। उमिद कुमार श्रेष्ठका अनुसार कार्कीको मिर्गौलामा समेत सुधार देखिएको छ ।