काठमाडौं । नेकपा (एमाले)निकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पराजित गर्दै डा. कडरिया अध्यक्ष निर्वाचित भएका हुन् ।
डा. कडरियाले ७३२ मत प्राप्त गरे भने प्रतिस्पर्धी पौडेलले ७२५ मत ल्याए । अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनमा ड. कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

पदाधिकारीमा अधिकांश डा. कडरिया प्यानलकै निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित भए। महासचिवमा दीपक धामी निर्वाचित भए। उनीहरू सबै डा. कडरिया प्यानलका हुन् ।
उपमहासचिवमा कमल जोशी निर्वाचित भए । जोशी पौडेलको प्यानलबाट प्रतिस्पर्धा गरेका थिए । चार सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित भएका छन् । निर्वाचन आयोग अध्यमा जितप्रसाद सिटौला निर्वाचित भए । उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भए ।
लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल निर्वाचित भइन् । उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भए। अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे र उपाध्यक्षमा आकाश गिरी निर्वाचित भए। सचिवमा स्मृति अधिकारी निर्वाचित भइन् ।
नीति, योजना तथा अनुसन्धान आयोगमा प्रकाश विष्ट निर्वाचित भए। उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भए । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन गत जेठ २५ गतेदेखि सुरू भएको थियो ।