काठमाडौं । बर्दियामा भैंसीले अन्नबाली खाएको विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा एक पुरुषको ज्यान गएको छ । गत आइतबार भएको कुटपिटमा गम्भीर घाइते भएका मधुवन नगरपालिका–१ का ५५ वर्षीय ढुक्कुर राउतको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार, गुलरिया नगरपालिका–७ का ३५ वर्षीय कृष्णरामजी यादवको भैंसीले राउतको खेतमा पसेर बाली खाएपछि विवाद भएको थियो । विवादका क्रममा यादवले राउतमाथि लट्ठी प्रहार गरेका थिए ।
टाउकोमा गम्भीर चोट लागेका राउतको नेपालगञ्जस्थित एक नर्सिङ होममा उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए । प्रहरीले कुटपिटमा संलग्न यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।