काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा केसीले आम जनता खुशी नहुने बजेटको स्वामित्व नेपाली जनताले लिन नसक्ने भन्दै मान्छे बेचेर देश चलाउने अवस्था रहेको र बजेट मुठीभरका थैली शाह वर्गका निमित्त बनेको बजेट भन्दा फरक नपर्ने स्पष्ट पारे ।
उनले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भए पनि उनीहरूलाई रोजगारी दिने गरी बजेटमा कुनै कार्यक्रम नरहेको बताए ।
रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र कृषिमा अझै पनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको अध्यक्ष केसीले दाबी गरे । दुध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्था आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको उनको आरोप छ ।














