काठमाडौं । इलामको सुर्योदय नगरपालिका–२ चारमाइलबाट असार १ गते सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जना नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरुमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षिय अभिनास बोध र ३५ को रवि कुमार रहेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना भेटिएको हो ।
सामान बरामद पश्चात् सुनचाँदी व्यवसायी सङ्घ बिर्तामोड झापामा ल्याएर परीक्षण गर्दा जलप लगाएको प्रमाणित भएको हो । दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ । उक्त चाँदी तथा सुनको जलप लगाएको गहना कहाँबाट के प्रयोजनको लागि ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।