
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति तथा तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारीबीच बाहिर गुटबन्दी, भित्रभित्रै भावी अध्यक्षका लागि सहमतिको वातावरण तयार भएको स्रोतले बताएको छ । दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिएसँगै नेकपा एमालेमा ७० वर्षे ‘उमेरहद’ बहस पेचिलो बनाएर पार्टी नेताहरुले ओलीको बहिर्गमन खोजेका छन् ।
१०औँ महाधिवेशनपछि एमालेभित्र प्रतिस्पर्धालाई निषेध गरेर पार्टी अध्यक्ष ओली शक्तिशाली अध्यक्षको रुपमा देखिएका थिए । तर, अहिले भण्डारीले पार्टी राजनीतिमा फर्कने तयारी गरेसँगै भण्डारीलाई एमालेकै नेताहरुले भावी अध्यक्षका रुपमा हेरिरहेका छन् । त्यसैले होला भण्डारीले चीन भ्रमणपछि कोशी प्रदेशका कार्यकर्तासँग भेटघाट गर्दै पार्टीको कमाण्ड सम्हाल्ने प्रष्ट संकेत गरिसकेकी छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञावाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल ओलीको स्वभावबाट आजित भइसकेका छन् । उनीहरुले पार्टीमा नेतृत्व बदल्नेगरी उपयुक्त पात्र खोजी गरिरहेको अवस्थामा भण्डारीलाई ल्याएर नेतृत्व जिम्मा लगाउने वातावरण तयार गरिरहेका छन् ।
भण्डारी एमालेको राजनीतिमा आउने बहस चर्कदै जाँदा एमाले नेता कार्यकर्ताहरूमा ७० वर्षे उमेरहद कायम गर्नुपर्ने र नपर्ने तथा पार्टी अध्यक्षको सीमा तोक्नुपर्ने (अध्यक्षमा दुई कार्याकाल) जस्ता विषयमा केन्द्रित हुन थालेका छन् ।
भण्डारीलाई पार्टी अध्यक्ष बनाउने हो भने ओलीको कार्यकाल १० औ महाधिवेशनबाटै सकिनेछ । ओली ७० वर्ष पूरा भइसकेको र दुई कार्यकाल अध्यक्ष पनि पूरा भइसकेका कारण ११औँ महाधिवेशनबाट ओली सहजै बिदा हुने अवस्था हुने छ । त्यसका लागि विधान महाधिवेशनबाट यी दुवै प्रावधान लागू गर्नुपर्नेछ ।
अध्यक्ष ओलीले ७० वर्षे उमेरहदले ‘फेल’ खाएको भनेर यही जेठ २५ गते सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेतृत्व तहमा उमेरहद र नेतृत्व परिवर्तनको विषयको बहसले झन प्रमुखता पाएको छ । २०७८ असोजमा सम्पन्न पहिलो एमाले विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी÷सदस्यमा निर्वाचित÷मनोनीत हुन ७० वर्ष नकटेको हुनुपर्ने व्यवस्था गरेको थियो ।
त्यसवेला एमालेले आफ्नो विधानमा ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान पनि समेटेको थियो । तर, विधानको यो व्यवस्था सचिवालय हुँदै २०८० जेठमा बसेको केन्द्रीय कमिटी बैठकले हाललाई भन्ने शब्द राखेर निलम्बन गरेको थियो ।
एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेलाई पार्टीमा ल्याउन निलम्बन गरिएको भनिएको यो व्यवस्था आगामी भदौ महिनामा हुने दोस्रो विधान महाधिवेशनले छिनोफानो नगर्दै नेताहरूले ७० वर्षे उमेरहदको विषय सतहमा ल्याएपछि ओली आतंकित भएका हुन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले ७० वर्षे उमेरहद फेल खाएको र आवश्यकताका आधारमा नेतृत्व चयन हुने बताएपछि एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायतका केही नेताहरू औपचारिक फोरममै ७० वर्षे उमेरहद र २ पटक कार्यकालको व्यवस्था कायमै रहेकाले आगामी दिनमा पनि सोही व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताएपछि ओलीको दिनगन्ती सुरु भएको हो ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने आकांक्षासहितको गतिविधिमा संलग्न हुनु र अध्यक्ष ओलीमा तेस्रो कार्यकाल पनि आफैले नेतृत्व गर्ने चाहाना प्रकट गर्नुले एमालेभित्र उमेरहदलाई पक्ष विपक्षमा बहसमात्र होइन, भण्डारीले नेतृत्व गर्ने भएमा १०औँ महाधिवेशनबाट पास भएको विधान कार्यान्वयन हुने अवस्था आउने छ ।
उमेरहद र नेतृत्वको सवालमा सतहमा ओली र भण्डारीका विपरीत अभिव्यक्तिले आइरहेको भएपनि भण्डारी सहमतिबाटै अध्यक्ष बन्ने पक्काजस्तै छ । एमाले नेताहरूका तिनै अभिव्यक्तिलाई लिएर तल्ला तहका कार्यकर्ताहरू उमेरहद र नेतृत्व परिवर्तनका सवालमा विभाजित हुन पुगेका छन् । यो प्रतिस्पर्धामा कार्यकर्ताहरू ओली र भण्डारीको पक्षमा मत प्रकट गर्ने प्रतिस्पर्धामा उत्रेका हुन ।
युवा–विद्यार्थीमा प्रतिस्प्र्धा गर्नेहरु मात्र होइन जनसंगठनमा प्रतिस्पर्धा गर्न नपाएकाहरु पनि भण्डारीको पक्षमा खुल्नेक्रम निरन्तर चलिरहेको छ । जिल्ला जिल्लामा दुई धार निर्माण हुँदै गएको छ । साथै, ओलीकै कारण पार्टी दिनदिने अलोकप्रिय हुँदै गएको भन्नेमा एमाले कार्यकर्ता ‘कन्भिन्स’ छन् ।
ओली र भण्डारीको अभिव्यक्ति र गतिविधिलाई नियालेका एमालेजनले दुवै परिघटनालाई संयोगमात्र भनेर बुझ्न सकेका छैनन् । जेठ ८ मा विद्या भण्डारी चीन भ्रमणमा गएदेखि नै भण्डारीको चर्चा चुलिएको छ । त्यसमाथि चीनले भण्डारीलाई एमालेकै विशिष्ट नेताका रुपमा सम्मान गरेबाट उनको मनोबल थप बढेको छ ।
भण्डारी एमालेको नेताकै रुपमा चीन भ्रमणमा गएकी थिइन । एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, देवर डा. कैलाश भण्डारी, स्वकीय सचिव भेषबहादुर अधिकारी र सार्वजनिक प्रसारण सेवाका अध्यक्ष महेन्द्र विष्ट भ्रमण टोलीमा सहभागी थिए ।
पूर्वराष्ट्रपतिको हैसियतजस्तो पनि देखिने र राजनीतिक कार्यक्रमहरूमा पनि भण्डारीलाई सहभागी गराउने मध्यमार्गी प्रस्तावमा चिनियाँ पक्ष पनि सहमत भएर उनको चीन भ्रमण भएको थियो । यो भ्रमणका क्रममा चिनियाहरुले नेपालमा बलियो कम्युनिष्ट पार्टी बनाउनुपर्ने प्रस्ताव समेत गरेका थिए । जसबाट भण्डारी उत्साहित पनि भएकी छिन् ।
भण्डारी चीनबाट फर्केर आएपछि कोशी प्रदेशको भ्रमणमा पुगेकी थिइन । त्यही क्रममा ओलीले भनेका थिए –‘अहिले हल्ला चलेको छ– तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । यहाँ अर्को खेल हुन खोजेको छ । फलानो आउने रे, यस्तो–उस्तो भनिएको छ ।’ अझ अघि बढ्दै ओलीले थपे, ‘को अध्यक्ष, को उपाध्यक्ष भनेर पार्टीमा कुनै छलफल भएको छैन । महाधिवेशनको पनि घोषणा भएको छैन । बाहिरबाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् ।’
उनले आफू ७० वर्ष कटे पनि अध्यक्ष रहिरहेको भन्दै उमेरहद फेल खाइसकेकाले तत्कालीन आवश्यकताले नेतृत्व छानिने बताएर चिनियाँ राष्ट्रपति सी जिनपिङ र साइप्रसको कम्युनिस्ट पार्टीदेखि विगतमा एमालेभित्रै नेतृत्वको सवालका गरिएका प्रयोगका उदाहरण समेत दिएका थिए ।
‘७० वर्ष उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ मा चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त ?चार वर्ष उमेर घटाउन भएन क्यारे’, ओलीको भनाइ थियो । अध्यक्ष ओलीले ७० वर्षे उमेरहदले फेल खाएको बताइरहेका बेला भण्डारी भने झापा र मोरङका एमाले नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त थिइन् ।
अध्यक्ष ओलीको अभिव्यक्ति, विद्याको सक्रियता र एमाले राजनीतिमा चासो राख्ने सञ्चारकर्मीले उनै पूर्वराष्ट्रपति भण्डारीलाई उनको सक्रियता र आगामी एमाले नेतृत्वका सवालमा विराटनगर विमानस्थलमा राख्दा आफू एमालेबाटै यहाँसम्म आएको र राजनीति गर्दा एमाले नै हुनसक्ने लगायतका जवाफ दिइरहेकी थिइन् ।
उनले पत्रकारहरुसँग भनिन्, ‘म पनि समाजकै मानिस हुँ । मैले पनि भेटघाट र जनसम्बन्ध बनाउनुपर्छ । यसैले जनतासँग भेटघाट गरेर जनधारणा बुझ्नु मेरो पनि कर्तव्य हो ।’ उनले यतिमात्र भनिन्, राष्ट्रिय आकाक्षाालाई साकार बनाउन हामी सबै लाग्नुपर्ने र त्यो हाम्रो परम कर्तव्य पनि भएकाले देश र नयाँ पुस्ताका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्ने बताइन् । उनी त्यतिमा मात्र रोकिइनन्, ‘यसैले देशभित्र घुमफिर गरिरहन मैले कसैको अनुमति लिइरहनुपर्दैन’, भण्डारीले प्रस्ट पारेकी थिइन ।
यसपछि एमालेमा उमेरहदबारे फायर उपल्लो तहका नेताहरुबाटै खोलिएको छ । ‘एमालेको गत महाधिवेशनले नेतृत्वका बारेमा दुईटा कुरा गरेको छ, जसमा उमेरको सीमा तय गरेको छ ७० वर्ष । अर्को, कार्यकारी पदमा लगातार दुईपटकभन्दा बेसी नहुने, डिस्कन्टियू हुनुपर्छ भन्ने प्रावधान राखेको छ’, पोखरेलको भनाइ थियो ।
पोखरेलको जस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवालीको मत रहेको छ । ‘महाधिवेशनले गरेको कार्यकारी पदमा ७० वर्षको उमेरहद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था अहिले पनि कायमै छ,’ उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘यो उमेरहद राख्ने कि नराख्ने अबको विधान महाधिवेशनले मात्र निर्णय गर्न सक्छ ।’
भण्डारी राष्ट्रपति हुनुभन्दाअघि एमालेको उपाध्यक्ष थिइन् । राष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउने चाहना राखेकी उनले अघिल्लो वर्ष चारवटा प्रदेशको अनौपचारिक भ्रमण गरी नेता–कार्यकर्तासँग भेट गरेकी थिइन् । अहिले उनको पार्टी सक्रियता बढाएकी छन् ।