
भोजपुर । आमचोक गाउँपालिका–१ वासीङथर्पु निवासी ९६ बर्षीय विष्णुमाया खड्कालाई वडाले सम्मान गरेको छ । वडा भित्रका ७० बर्ष माथिका ८० जना ज्येष्ठ नागरिकसहित ९६ बर्षीय विष्णुमायालाई पनि वडाले अबिर, खादामालासहित दैनिक जिवनमा उपयोग हुने सामग्री दिएर सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै उनले भने, ‘पहिलो पटक यति राम्रो सम्मान पाइयो, दिलैदेखि खुसी लागेको छ। अब लाग्छ, सरकार हामीलाई सम्झिरहेको छ ।’ यस्तै अन्य ज्येष्ठ नागरिकहरूले पनि कार्यक्रमप्रति खुसी र आभार व्यक्त गरेका छन् ।
वृद्धवृद्धासँग अनुभव साटासाट गर्नुका साथै समाजका अग्रज आमावुबालाई सम्मान गर्ने, स्थानीय सरकार र नागरिकबिचको सम्बन्ध अझ बलियो बनाउने, सम्मानको संस्कृतिलाई बढावा दिन वडाले वडाभित्रका जेष्ठ नागरीकलाई सम्मान गरेको वडाध्यक्ष निम्नुरी शेर्पाले बताए ।
उनका अनुसार ‘स्थानीय सरकारप्रति ज्येष्ठ नागरिकको सम्बन्ध अझै प्रगाढ होस् भन्ने हाम्रो चाहना हो । ज्येष्ठ नागरिकहरू अनुभव र जीवनदर्शनका धनी हुनुहुन्छ । उहाँहरूको सम्मान गर्नु हाम्रो सामाजिक कर्तव्य हो ।’
सम्मान कार्यक्रममा उहाँहरूलाई दैनिक उपयोगी सामग्रीको रूपमा रिचार्जेबल टर्चलाइट पनि प्रदान गरिएको छ । वडाका जनप्रतिनिधि, समाजसेवी, स्थानीय अगुवा, महिला समूहका प्रतिनिधि, युवाहरू र सम्मानित ज्येष्ठ नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।