काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।

गत शुक्रवार अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखालाई प्रतिपक्षी बनाउँदै रिट दायर गरेका थिए । मङ्गलवार न्यायाधीशद्वय ऋषिराज भण्डारी र कविप्रसाद न्यौपानेको इजलासले उक्त रिट खारेज गरेको हो ।
यसअघि आइतबार न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले अन्सारीको रिटमा सुनुवाइ गर्दै जवाफसहित उपस्थित हुन र अन्सारीलाई अदालतमा पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार मङ्गलवार सीआईबीले अन्सारीलाई अदालतमा उपस्थित गराएको थियो। सुनुवाइपछि रिट खारेज भएको हो ।
अन्सारीलाई गत १० जेठमा ललितपुरको नख्खु कारागारबाट सजाय भुक्तान गरी रिहा भएलगत्तै सीआईबीले पक्राउ गरेको थियो । उनमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसयता उनी सीआईबीको हिरासतमा छन् । २०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्सारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनी सीआईबीको हिरासतमा छन् ।
२०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्सारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूसँग ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक मोहम्मद अख्तर (राहदानी नं. एए १२४५४९४, ४९ वर्ष), नासिर उद्दिन (राहदानी नं. एआर २४०६४३२, ६७ वर्ष) र नादिया अनवर (राहदानी नं.सीएन १८१२०३२, ३९ वर्ष) थिए। उनीहरू कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।
यी पाकिस्तानी नागरिकलाई लिन गएका अन्सारीसँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पनि पक्राउ परेका थिए। यो मुद्दामा अन्सारीलाई ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । सजाय भुक्तान गरेर रिहा भएलगत्तै सीआईबीले उनलाई पुनः नियन्त्रणमा लिएको हो ।