पोखरा । पढाइलाई सिकाइ र कमाइसँग जोड्दै हिमाल कलेज अफ म्यानेजमेन्ट तथा डाइनामिक एकेडेमीले “हेरौँ, सिकौँ, कमाऔँ” नारासहित विद्यालय तहमै व्यावहारिक र व्यावसायिक शिक्षाको अभियान सुरु गरेको छ । यो पहलले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप र आत्मनिर्भरतातर्फ उन्मुख गराउने लक्ष्य राखेको छ ।

यो अभियानअन्तर्गत कक्षा ११ देखि नै विद्यार्थीहरूलाई स्व–लगानीमा आधारित कृषि र साना व्यवसायसम्बन्धी परियोजनाहरू सञ्चालन गर्न प्रोत्साहन गरिएको छ । विद्यार्थीहरूले तीन महिनादेखि एक वर्षसम्म प्रतिफल दिने योजनाहरू मार्फत बासमती खेती, औषधीय वनस्पति उत्पादन, जैविक मल निर्माण, बिरुवा संरक्षण र फलफूल व्यवस्थापनजस्ता विषयमा तालिम र व्यावहारिक अनुभव प्राप्त गरिरहेका छन् ।
कृषि विज्ञ डा। विश्वास सुवेदीको प्राविधिक मार्गदर्शनमा सञ्चालित यो कार्यक्रमले विद्यार्थीहरूलाई श्रम, लगानी, उत्पादन, बजार अनुसन्धान र मार्केटिङमा दक्ष बनाइरहेको छ ।
विद्यालय निर्देशक कृष्ण गुरुङ भन्छन्, “पुस्तकीय ज्ञानमा मात्र सीमित नभई व्यावहारिक शिक्षाले विद्यार्थीको भविष्य निर्माण गर्छ भन्ने हाम्रो विश्वास हो । यो अभियान त्यसैको कदम हो ।”
स्कूल इन्चार्ज एलिना पराजुलीले थपिन्, “हामीले सानै उमेरदेखि विद्यार्थीहरूलाई लगानी र आत्मनिर्भरताको पाठ सिकाउन खोजेका छौँ । कक्षा १२ सकिँदा उनीहरू रोजगारीको खोजीमा मात्र नभई साना व्यवसाय सञ्चालन गर्न सक्षम हुनेछन् ।”
विद्यालय अनुशासन इन्चार्ज सुरेश लामाले यो कार्यक्रमले विद्यार्थीहरूमा आएको सकारात्मक परिवर्तनले आफूलाई उत्साहित बनाएको बताए ।
कलेज अध्यक्ष चेतनाथ भण्डारीले भने, “यो अभियान नयाँ पुस्तालाई आत्मनिर्भर, कार्यकुशल र नेतृत्वदायी बनाउने प्रयास हो। यसले विद्यार्थीहरूको आत्मविश्वास र व्यावसायिक सीप अभिवृद्धि गरेको छ ।”
स्नातक तहमा पनि यस्तै व्यावहारिक कार्यक्रमहरू सञ्चालित छन् । बीबीएस तहमा बैङ्किङ तालिम, औद्योगिक भ्रमणलगायतका गतिविधिहरू समावेश गरिएको छ। जसका कारण हिमाल कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षामा दुईपटक देशकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको वरिष्ठ प्रशासनिक अधिकारी बिनोद गिरीले टेलिफोनमार्फत जानकारी दिए ।
हिमाल कलेजको यो नवीन अभियानले विद्यालय र कलेज तहमा व्यावहारिक शिक्षाको महत्त्व स्थापित गरेको छ । अन्य शैक्षिक संस्थाहरूले पनि यस्ता कार्यक्रमहरू अनुकरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।











