
काठमाडौं । मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण सुरु गरिएको हो ।
काठमाडौँमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की खानेपानी मन्त्रीसहितको टोलीले सफल परीक्षण गरेसँगै मंगलबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिएको हाो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछानेले काठमाडौँमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिएको जानकारी दिए । मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।
‘गतवर्ष पनि यहाँ बर्खामा कति फोहोर हुने रहेछ भनेर पहिलादेखि अध्ययन गरेका थियौँ’, उनले भने, ‘अघिल्लो वर्ष अध्ययन गर्दा यहाँको पानीमा कुनै समस्या देखिएको छैन, हिजो सोमबार पानी पथान्तरण गरी काठमाडौँ पानी पुगेको छ ।’
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको बेलामा रिबर्मा खोलाबाट ५ देखि ७ करोड लिटर पानी र बागमतीबाट पनि ५ देखि ७ करोड लिटर पानी गरी कम्तीमा पनि दशदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउने गरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
रिबर्मा खोलाबाट ल्याइएको पानी काठमाडौँमा निर्माण भएका विभिन्न खानेपानी ट्याङ्कीमार्फत वितरण गर्दै उपत्यकावासीको दैनिक जीवनलाई सहज बनाउनका लागि यो आपूर्ति नियमित बनाइने तयारी समेत गरिएको छ ।