काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार साँझ कांग्रेसका दुई शीर्ष नेता र पार्टीबाट सरकारमा रहेका तीन मन्त्री लिएर देउवा प्रधानमन्त्री ओलीसँग छलफल गर्न पुगेका हुन् ।

सभापति देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र ऊर्जामन्त्री दीपक खड्कालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका बालुवाटार हुन् ।
छलफलमा एमालेका तर्फबाट ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए । कांग्रेस उपसभापति खड्काले प्रधानमन्त्रीसँगको भेटमा सदनको कामकारबाही, सरकारको कामकारबाही र समसामयिक विषयमा कुराकानी भएको बताए ।
त्यस्तै, छलफलमा सहभागी अर्का एक नेताका अनुसार निजामती विधेयकको विषयमा पनि कुरा भएको थियो । उनले निजामती विधेयकमा कुलिङ पिरियडमा नेताहरूबीच केही कुरा मिल्न बाँकी रहेकाले त्यसबारे पनि छलफल भएको बताए ।
त्यस्तै, छलफलकै क्रममा प्रधानमन्त्री ओलीले इरान र इजरायलको द्वन्द्वका कारण समस्यामा परेका नेपालीको उद्धार र सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराएका थिए ।