Logo
Logo

को बन्लान् बीपी प्रतिष्ठानको उपकुलपति ?

कांग्रेसको हातमा वीपी प्रतिष्ठानको भविष्य


3k
Shares


काठमाडौं । विगत दुई महिनादेखि रिक्त रहेको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको खोजी तिव्ररुपमा भइरहेको छ ।

गत चैत २६ गते आफ्नो पाँचवर्षे पदावधि सकेर उपकुलपति डा ज्ञानेन्द्र गिरीले प्रतिष्ठान छाडेपछि रिक्त पदमा अब को आउलान् भन्ने व्यापक चासोको विषय बनेको छ । उपकुलपति नियुक्तिका लागि स्वास्थ्यमन्त्री प्रदिप पौडेलको संयोजकत्वमा स्वास्थ्य सचिव डिल्लीराम शर्मा र डा आरसी विच्छा लगायत ३ सदस्यीय छनौट समिति गठन भइसकेको छ । तर, उपकुलपतिको पद रिक्त भएको दुई महिना वितिसक्दा पनि समितिले भने काम अघि सारेको छैन ।

उपकुलपति नियुक्तिका लागि समितिले उम्मेदवारीका लागि विज्ञापनको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । तर, हालसम्म केही प्रक्रिया अघि नबढेकाले भिसीको नियुक्तिमा जति विलम्व भयो, उति नै प्रतिष्ठान सञ्चालनमा वाधा–व्यवधान आउने कर्मचारीहरु बताउँछन् ।

यता, आफुलाई उपकुलपतिको लागि योग्य रहेको दाबी गर्नेहरुको नामावली पनि थपिँदै गएको छ । ती नामहरुमा हालका रेक्टर तथा कामु उपकुलपति प्राडा सञ्जीवकुमार शर्मा, निर्वतमान उपकुलपति डा ज्ञानेन्द्र गिरी, पुर्वस्वास्थ्य सचिव रोशन पोखे्रल, प्राडा पशुपति चौधरी, सेवानिर्वित प्राडा प्रल्हाद कार्की, हाल, नाक, कान घाँटी विभागकी प्राडा संगीता भण्डारी, हाडजोर्नी विभागका प्राडा विक्रम श्रेष्ठ रहेका छन् ।

कसको पल्लाभारी ?

नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारले स्वास्थ्य प्रतिष्ठानहरुको उपकुलपति नियुक्तिमा भागवण्डा गर्दा धरानको वीपी प्रतिष्ठान नेपाली कांग्रेसको भागमा परेको छ । उपकुलपतिका शसक्त दावेदारको रुपमा देखिएका हालका कावा उपकुलपति प्राडा सञ्जीव शर्मा एमालेनिकट मानिन्छन् । वीपीको कोटा कांग्रेसको पोल्टामा परेको कारण उनले कतै भनसुनमा समय खर्चेका छैनन् ।

यता, चार वर्षसम्म नक्कली प्राध्यापक भएर अख्तियारको निगरानीमा पनि परेका निर्वमान उपकुलपति डा ज्ञानेन्द्र गिरी आए आँप, गए झटारो भन्ने मनस्थितिमा रहेर आफनो चर्चा आफैँले गर्दै हिँडिरहेका छन् । विराटनगरका मेडिकल कलेज संचालकका रुपमा परिचित गिरीलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चुनावमा सघाएवापत पुरस्कारस्वरुप भीसी बनाएका थिए । तर, उनले सबैलाई ढाँटेर आफु प्राध्यापक पनि भएको भनि कार्यालयमा नेम ट्याग झुड्याएपछि अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको थियो । मुद्धा चलुन्जेल झण्डै एक वर्ष उनी उपकुलपति पदबाट निलम्वनमा परेका थिए ।

उनले गरेको बदमासीको दसीप्रमाण सबै हुँदाहुँदै पनि विशेष अदालतले उनलाई सफाइ दिएको थियो । डा गिरीको पालामा केही मेडिकल माफियाहरुले प्रतिष्ठानमा रामै्र कमाउधन्धा चलाउन सफल भएको कारण उनलाई ल्याएर फेरि आफ्नो धन्धालाई निरन्तरता दिन उनको नाम उचाल्ने गरेको बताइन्छ ।

यता, स्वास्थ्य सचिवसमेत रहेका डा रोशन पोख्रेल पनि प्रतिष्ठानको बजेट आम्दानीमा र्याल काढ्नकै लागि आफनो नाम अगाडि ल्याएको देखिन्छ । किनभने, उनले प्रतिष्ठानको उन्नति चाहेको भए उनी स्वास्थ्य सचिव भएको बेला कमसेकम प्रतिष्ठानको आमूल सुधार गर्न डा वैकुण्ठ आयोगले दिएको प्रतिवेदनलाई लागु गर्न पहल गर्ने थिए । उनी हालैमात्र सचिव पदबाट निवृत भएका कारण दुई वर्ष कुलिङ पिरियडको प्रस्ताव मन्त्री परिषदबाट पारित भए उनको भीसी बन्ने सपना, केवल सपनामै सिमित हुने पक्का छ ।अहिले कुलिडपिरियड को प्रावधान हटाउन पोख्रेल लगायत अन्य उच्चस्तरीय कर्मचारीहरु प्रधानमन्त्रीलाई मनाउन भरमग्दुर प्रयासमा लागेका छन ।

वीपी प्रतिष्ठानमा लामो समय काम गरेर उमेरहदका कारण अवकास पाएका प्राडा प्रल्हाद कार्की पनि डा शेखर कोईरालाको आशिर्वाद प्राप्त उम्मेदवार हुन् । उनलाई यसअघि पनि डा कोईरालाले कावा उपकुलपति बनाएको थियो । त्यतिबेला प्रतिष्ठानमा कर्मचारी र चिकित्सक, शिक्षकहरुले आन्दोलन गर्दा समस्या समाधान गर्न नसकेर दुई महिना भागेर काठमाडौं बसेपछि लुते, असक्षम पदाधिकारीको उपनाम पाएका थिए ।

हालको दौडमा डा कार्कीको जीवन संगिनी प्राडा संगीता भण्डारी पनि बलियो उम्मेदवारको रुपमा देखापरेकी छन् । उनी अहिले डा आरजु देउवाको फेरो समातेर उपकुलपति पड्काउने चक्करमा छिन र राणाले पनि उनलाई राम्रै आश्वासन दिएको बताइन्छ । प्रतिष्ठानभित्र ज्यादै विवादास्पद, छुच्ची डाक्टरको रुपमा परिचय बनाएकी डा संगीता भण्डारी यसअघि वीपी प्रतिष्ठानमा जागिर खाँदाखाँदै पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति हुँदा विवादै विवादको भुमरीमा परेर छाडेकी थिइन् ।

‘सदावहार मन्त्री’ शरदसिह भण्डारीकी आफ्नै बहिनी भएको कारण सधैँ उच्च पदमा जान रुचाउने संगीता भण्डारीलाई आफु्माथी वर्तमान सरकारकी शक्तिशाली लेडी आरजु राणाको आशीर्वाद प्राप्त भएकोले पनि उपकुलपति हुने कुरामा ढुक्क देखिएकी राणानिकटकांग्रेसीहरु वताउँछन् । तर, कसैसँग पनि राम्रो सम्वन्ध बनाउन नसक्ने भण्डारीलाई आरजु राणाले कथंकदाचित उपकुलपति बनाएमा अन्य तीनजना पदाधिकारीबाट उनले सहयोग पाउने छैन । किनभने हालका रेक्टर, रजिष्टार र अस्पताल प्रमुखसँग उनको सम्वन्ध राम्रो छैन । यि तीनै पदाधिकारीसँग यिनको पानी बाराबारको अवस्था रहेको प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन् ।

काठमाडौं बसेर शक्ति केन्द्रहरुको आशीर्वाद प्राप्त गर्ने होडमा लागेका कारण पोखे्रल र भण्डारीद्धय दौडमा देखिएपनि उपकुलपति हुनलाई प्राडा विक्रम श्रेष्ठ र सञ्जीव शर्माचाहिँ उपयुक्त पात्र भएको प्रतिष्ठानका शिक्षक, विधार्थी, कर्मचारी, प्राध्यापकहरु बताउँछन् । दुवै जनालाई प्रतिष्ठानभित्र दक्ष, योग्य इमान्दार र मेहनती चिकित्सकको रुपमा मानिन्छ । योग्य भएरपनि एमालेको ट्याग लागेका डा शर्मालाई यस पटक भने त्यति सजिलो छैन । किन भने यस पटक प्रतिष्ठान काग्रेसको कोटामा परेको छ । तर, कांग्रेसी मतदाता भएपनि आफ्नो पेशाप्रति मात्र चासो राख्ने डा विक्रम श्रेष्ठको माथिसम्म खासै पहुँच छैन ।

चाकडी र चाप्लुसी गर्न पटक्कै नजान्ने श्रेष्ठले आफु त पैसा बोकेर नेताको घरघर पुग्न नसक्नेमा पर्छुु । त्यसैले फियर मुल्याँकन भएन भने आफु आउन नसक्ने बताउँछन् । धरानको सम्पन्न वर्गमा पर्नु हुने डा श्रेष्ठ धरानका सम्पन्न र सुसंस्कृत परिवारका सदस्य हुन् । उनले आफ्नो वुवाको नाममा वीपी प्रतिष्ठानभित्र झण्डै २ करोड रुपैयाँ खर्च गरेर एकमात्र सुविधा सम्पन्न धर्मशालाको निर्माण पनि गरिदिएका छन् ।

कांग्रेसको हातमा चावी

स्वस्थ्य तथा शैक्षिक क्षेत्रमा दक्षिण एसियामै अध्ययन अनुसन्धान र सेवामा नाम कमाउँदै आएको यस प्रतिष्ठान विगत ८ वर्षअघिदेखि भ्रष्टचार र विवादै विवादको थुप्रोले पुरिएर निकै कमजोर भइसकेको छ । राजनीतिक हस्तक्षेप र भीसी नियुक्तmीमा आर्थिक चलखेलका कारण जर्जर अवस्थामा पुगेको यो प्रतिष्ठानलाई अव पहिलेकै अवस्थामा ल्याउन एक इमान्दार, योग्य र कुसल प्रशासकको आवश्यकता छ ।

पुर्वाञ्चलकै जनताको लागि आधुनिक स्वास्थ्य सेवा र दक्ष चिकित्सक उत्पादन गर्न २०५० सालमा वीपी कोईरालाको नाममा स्थापना भएको यो प्रतिष्ठानको उतारचडावमा नेपाली काँगे्रसको प्रत्यक्ष संलग्नता रहँदै आएको छ । एकताका नेपाली काँगे्रसका नेता डा शेखर कोईरालाले समेत नेतृत्व गरेको यो प्रतिष्ठानको भीसी नियुक्तीमा नेपाली कांग्रेसकै महत्वपुर्ण हात रहँदै आएको छ ।

यसै सन्दर्भमा यसपटक पनि काँगे्रसकै पोल्टामा परेको भीसी नियुक्तीलाई सबैले चासोका साथ हेरेका छन् । हालसम्म देखिएका उम्मेदवारमध्ये कांग्रेसमा आएका नामहरुमध्ये धेरै जसोले कांग्रेस भित्रका विभिन्न गुटका नेताहरुको फेरो समाति रहेपनि यसपटक भने स्थानीय कांग्रेसका नेता कार्यकर्ताले प्रतिष्ठानलाई अघि बढाउन सक्ने योग्य र ईमान्दार उपकुलपति छान्न आफना नेताहरुलाई खबरदारी गरिरहेको नेपाली कांग्रेस धरान नगर समितिका सभापति श्याम पोखे्रल बताउँछन् ।

प्रतिष्ठानको उन्नती र अवन्नतिको जसअवजस नेपाली काँगे्रसमा जाने भएकाले योपटक केन्द्रिय नेताहरुले गम्भीरतापुर्वक ध्यान पुर्याउन पर्ने र सिफारिस गरेको व्यक्तिलाई छनौट गर्न समयमै सचेत गराउँदै आएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति उमेश थापाले बताएका छन् । हालै नेपाली काग्रेस धरान नगर समितिको भेलामा भाग लिन गएका कागे्रसका महामन्त्री गगन थापा लगायत उपप्रधानमन्त्री रमेत रहेकी डा आरजु राणालाई समेत धरानका कांगे्रसीजनले ज्ञापनपत्र वुझाई सकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्