Logo
Logo

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण


378
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सहकार्यमा तयार पारिएको प्रि–स्कुल पाठ्यक्रम नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

देशभर सञ्चालन भइरहेका प्रि–स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित तयार पारिएको प्रि–स्कुल पाठ्यक्रम
काठमाडौँमा आयोजित एक कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले प्याब्सनकी केन्द्रिय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि–स्कुलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताइन् । ‘शिक्षा सिकाइमा आधारित हुनुपर्छ र डिजिटल शिक्षाको दिशामा पनि अग्रसर हुन आवश्यक छ,’ उनले भनिन्।

उनले पाठ्यक्रम लिपिबद्ध भएपछि पाठ्यपुस्तक र सिलेबस निर्माणको कार्य थालिने जानकारी दिँदै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले विश्वविद्यालयको मुख्य उद्देश्य ज्ञानमार्फत समाजमा योगदान पु¥याउनु रहेको उल्लेख गर्दै शिक्षा संस्थाहरूले केवल डिग्री वितरण गर्ने संस्थामा सीमित नहुने र सामाजिक रूपान्तरणको लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।

‘हामीले उत्पादन गर्ने ज्ञान प्रयोगयोग्य, सान्दर्भिक र समाजका जटिल चुनौतीहरू समाधान गर्न सक्षम हुनुपर्छ,’ उनले भने, ‘यसरी विकसित गरिएको पाठ्यक्रमले प्रारम्भिक बालशिक्षामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ।’

उनले नेपालको शिक्षाले अब संकुचित पाठ्यपुस्तक र अंककेन्द्रित मूल्यांकन प्रणालीबाट बाहिर निस्केर सृजनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रारम्भिक बाल शिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा. पार्वती ढुङ्गानाले सहकार्यको महत्त्वलाई जोड दिँदै पाठ्यक्रम निर्माण कुनै एक संस्थाको काम मात्र नभई शिक्षा वैज्ञानिक, नीति निर्माताहरू, विद्यालय सञ्चालक र शिक्षकहरूबिचको समन्वय र साझा प्रयासबाट मात्र प्रभावकारी हुन सक्ने बताइन्।

‘पाठ्यक्रम बनाउने काम सिर्जनात्मक मात्र होइन, अनुसन्धानमा आधारित र साक्ष्य–समर्थित हुनुपर्छ,’ उनले भनिन्, ‘बालबालिकाको समग्र विकासका लागि सिकाइको मनोविज्ञान, सामाजिक सन्दर्भ, स्थानीय आवश्यकता र अन्तर्राष्ट्रिय अनुभवलाई समेटेर पाठ्यक्रम विकास गर्नु अत्यावश्यक हुन्छ ।’

उनले प्रारम्भिक बाल शिक्षा मुलुकको समग्र शैक्षिक आधारभूत संरचना निर्माणको जग भएको उल्लेख गर्दै विश्वविद्यालय र नेसनल प्याब्सनबिचको सहकार्यले निजी क्षेत्रलाई समेत शैक्षिक सुधारको साझेदार बनाएको बताइन् ।

त्यस्तै नेसनल प्याबसनका पूर्वअध्यक्ष एवं शिक्षा नीति तथा प्रशिक्षण आयोगका संयोजक कर्ण बहादुर शाहीले नेपालको भविष्य कक्षा कोठामै निर्माण हुने भएकाले प्रारम्भिक बालशिक्षालाई अझ प्रभावकारी, वैज्ञानिक र समकालीन आवश्यकताअनुसार सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे।

शाहीले प्रारम्भिक शिक्षा प्रणालीलाई लामो समयदेखि उपेक्षित गरिएको भन्दै अब त्यसलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेसनल प्याब्सनका पूर्वअध्यक्षहरू पण्डव हमाल, ऋतुराज सापकोटा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्