काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर पुर्पक्ष गर्ने भन्ने सोमबार मात्रै टुङ्गो लाग्ने भएको छ । रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । आइतबार अदालतमा उपस्थित गराएर उनको बकपत्र गराइएको छ । बहस नसकिएपछि न्यायाधीश बलराम लम्सालको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ ।

२०८० भदौमा पहिलो चरणमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । २६ जना पक्राउ परेका थिए । तीन जना फरार थिए ।
ब्रेक–सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले सुरुमा बरामद गरेको थियो। १९ दिन विभागले नै अनुसन्धान गरेपछि अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो ।
यो तस्करीका नाइके अमलाका श्रीमान् तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ रहेको प्रहरीको दाबी छ । अमलासँगै भोला साह, जीवन चलाउने पनि फरार छन् ।
त्यतिबेला अदालतमा पेश गरिएका मध्ये एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दोस्रो चरणमा यही मुद्दामा २०८१ असारमा सीआईबीले मुद्दा पेश गरेको थियो । त्यतिबेला १९ जना प्रतिवादी बनाइएकोमा १६ जना पुर्पक्षका लागि थुनामा र ३ जनासँग धरौटी माग गरिएको थियो ।














