सर्लाही । नेपाली कांग्रेस, मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको क्षेत्र नम्बर ४ मा पछिल्ला केही महिनायता बढ्दै गएको आपराधिक गतिविधि र अराजकताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले केही राजनीतिक व्यक्तिको उक्साहट र संरक्षणमा अराजक तत्त्वहरूले प्रहरी र सर्वसाधारणमाथि साङ्घातिक आक्रमण गरी स्थानीयलाई त्रसित बनाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री सिंहले यस्ता गतिविधिको कडा निन्दा गर्दै दोषीमाथि कठोर कारबाहीको माग गरेका छन् । साथै, उनले क्षेत्रवासीलाई यस्ता अराजक कार्य गर्ने र गराउने व्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् ।
उनका स्वकीय सचिव निकेश त्रिपाठीले यस्ता घटनाले जनतामा त्रास फैलिनुका साथै सुरक्षा निकायको प्रभावकारितामाथि प्रश्न उठेको बताए । उनले यस्ता गतिविधिमा संलग्न र संरक्षण गर्ने व्यक्तिको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।