
काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सांसद रेशम बहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका छन् ।
सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफलका क्रममा उनले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका हुन् ।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनले आफ्नो जिल्लामा अन्याय भएको भन्दै पुस्तिका च्यातेका हुन् ।
अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म आफ्नै खर्चमा घुमाउने भन्दै विनियोजित बजेटमाथि पनि प्रश्न गरे ।
‘म्याग्दीको भूगोल थाहा छैन भने अर्थमन्त्री र भौतिक मन्त्रीलाई आफ्नै खर्चमा गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु । म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु,’ उनले भने ।
साथै उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी गर्दै उनले अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष गरे ।