काठमाडौं । सरकारले इरानमा १६ नेपाली रहेको जनाएको छ, जहाँ इजरायलसँग युद्धरत अवस्था छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले यो जानकारी दिएकी हुन् ।

‘इरानमा १६ नेपाली नागरिक छन् । तीमध्ये ११ जना मसादमा छन् भने ५ जना गैर कानुनी रूपमा गएकाले इरानी जेलमा छन्,’ उनले भनिन् । मन्त्री राणाले मङ्गलवार ११ जना नेपालीलाई भारतीय विमानमार्फत भारत ल्याइने जानकारी दिइन् । भारतले आफ्ना नागरिकको उद्धार गर्दा नेपालीलाई पनि सहयोग गर्ने बताएपछि नेपाल सरकारले सहमति दिएको उनले बताइन् ।
यी ११ मध्ये एक जनाको ट्राभेल डकुमेन्ट नभएकाले त्यसको प्रक्रिया सुरु भएको छ । साथै, गैर कानुनी रूपमा जेलमा रहेका ५ नेपालीलाई कसरी रिहा गर्न सकिन्छ भनी पहल भइरहेको मन्त्री राणाले बताइन् ।














