काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल–इरान द्वन्द्वका कारण इजरायलबाट नेपाल फर्कन चाहने ८८५ नेपालीले अनलाइन पोर्टलमार्फत नाम दर्ता गरेको जानकारी दिएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारले प्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकता दिएको र विवरण सङ्कलन कार्य भइरहेको बताइन् ।

मन्त्री राणाका अनुसार, जुन १७ देखि अनलाइन पोर्टलमार्फत विवरण सङ्कलन सुरु गरिएको हो । आगामी एकरदुई दिनमा ‘श्रम संसार’ मोबाइल एपलाई नागरिक एपसँग एकीकृत गरी सञ्चालन गरिनेछ । यो एपले विश्वभर रहेका नेपालीको विवरण सङ्कलनमा सहयोग पुग्ने उनको भनाइ छ ।
सरकारले जुन १३ देखि प्रेस विज्ञप्ति र जुन १५ मा एड्भाइजरी जारी गरी इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, सम्बन्धित मुलुकका नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्थाबारे जानकारी लिइरहेको मन्त्री राणाले बताइन् ।
उनले इरानको हिरासतमा रहेका पाँच नेपालीलाई फिर्ता ल्याउन कूटनीतिक पहल भइरहेको र अवैधानिक रूपमा विदेशमा कार्यरत नेपालीलाई वैधानिक बनाउन कार्यदल गठन गरी काम अघि बढाइएको जानकारी पनि दिइन् ।
परराष्ट्र मन्त्रालयले इजरायल–इरान द्वन्द्वलाई गम्भीरतापूर्वक लिँदै त्यस क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उनले जोड दिइन् ।