काठमाडौं । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग भएको भन्दै अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

श्रेष्ठले दायर गरेको रिटमा फिल्ममा आफ्नो मोबाइल नम्बर अनधिकृत रूपमा प्रयोग गरिएको र यसले आफूलाई मानसिक तथा शारीरिक क्षति पुगेको उल्लेख छ । उनले सोमबार वारेसमार्फत मुद्दा दायर गरेका हुन् ।
रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग भएको र एमएसएम ओटीटी प्लाटफर्मलाई नम्बर हटाउन आग्रह गर्दा पनि कुनै कारबाही नभएको जनाएका छन् । उनले मानसिक र शारीरिक हानिका लागि उचित क्षतिपूर्ति र कानुनी कारबाहीको माग गरेका छन् ।
मुद्दामा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति र निर्माता रोहित अधिकारीलाई विपक्षी बनाइएको छ । चलचित्र नियामक निकायलाई पटकपटक पत्राचार गर्दा पनि सुनुवाइ नभएपछि मुद्दा दायर गर्नुपरेको रिटमा उल्लेख छ ।