Logo
Logo

सुर्खेत अस्पतालमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा


693
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको प्रदेश अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनामाथि २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार, अस्पतालमा बिरामीबाट सङ्कलित राजस्व बैङ्कमा जम्मा नगरी हिनामिना गरेको आरोपमा सोमबार उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको हो । अनुसन्धानमा स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर रकम सङ्कलन गरी सो रकम बैङ्कमा दाखिला नगरेको पाइएको छ । 

अख्तियारले यो कार्यमा लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैङ्कको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको पनि मिलेमतो रहेको ठहर गरेको छ ।
 
आर्थिक वर्ष २०८०/८१ मा सङ्कलित कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र बैङ्कमा जम्मा भएको र बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा बदनियत पूर्वक हिनामिना गरिएको अख्तियारको दाबी छ । 

आयोगले सुवेदी र शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय माग गरेको छ । यस्तै, मतियारको भूमिका खेलेको आरोपमा बैङ्ककी तत्कालीन काउन्टर प्रमुख मगरविरुद्ध २४ लाख २ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्