काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन विधेयक पर्याप्त छलफलविना ल्याइएको भन्दै आपत्ति जनाएका छन् । सोमबारको अर्थ समिति बैठकमा बोल्दै उनले विधेयकमा गहन नगरी ल्याएको बताएका हुन् ।

उनले हरेक समस्याको समाधान कर वृद्धिमा खोज्ने प्रवृत्तिले दैनिक उपभोक्तालाई असर परिरहेको बताए । ‘टाउको दुख्दा पेटको उपचार गर्नुहुन्न । हाम्रोमा यस्तो बेथिति छ, र ग्रे वा ब्ल्याक लिस्टको डर देखाउँछौँ । सतही उपचारले मात्र कर बढाएर समस्या समाधान हुँदैन । कालो धनको समस्या समाधान गर्न प्रणाली सुधार गर्नुपर्छ,’ उनले भने ।
सांसद श्रेष्ठले सुनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाइरहेको बताए । सुनको महत्त्व गृहिणी, सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि रहेका बताए ।
‘हामी हरेक समस्याको समाधान करमा थुपार्छौँ, जसले उपभोक्तालाई मार पर्छ। सुनले अनौपचारिक रूपमा हाम्रो अर्थतन्त्रलाई स्थिर राख्न योगदान दिएको मान्यता छ,’ उनले भने । उनले अनौपचारिक कारोबारलाई करको दायरामा ल्याउनुपर्ने बताए ।