
काठमाडौं । इजरायल र इरानबीचको चर्किँदो द्वन्द्वमा अमेरिकाको संलग्नतापछि मध्यपूर्वमा बढेको तनावले नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्भावना बढाएको छ । नेपाल आयल निगम (एनओसी)का अधिकारीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने चेतावनी दिएका छन् ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, हालै ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारल ७९ अमेरिकी डलर पुगेको छ, जुन जनवरीयताकै उच्च हो । यो मूल्य नेपालले भारतबाट पछिल्लो पटक प्राप्त गरेको ६५ डलर प्रतिब्यारलको तुलनामा उल्लेख्य वृद्धि हो ।
नेपालमा प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी) ले पठाउने मूल्यसूचीका आधारमा पेट्रोल, डीजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य समायोजन हुन्छ । युद्ध सुरु भएदेखि तेलको मूल्य भारतमा बढिरहेको छ, जसको असर नेपालमा पनि पर्ने देखिएको छ ।
नेपालमा दुई वर्षअघि पुनः लागु गरिएको स्वचालित मूल्य प्रणालीले अन्तर्राष्ट्रिय बजारको मूल्यलाई आधार मानेर मूल्य निर्धारण गर्छ । स्वचालित प्रणालीले जनताको क्रयशक्तिमा बोझ थप्न सक्ने देखिएको छ ।
मूल्य स्थिरिकरण कोषको प्रयोग र फोसिल इन्धनको खपत घटाउने उपाय अपनाएर केही समयलाई समस्या टार्न सकिन्छ । निगमले आफ्नो बिक्रीको १ प्रतिशत रकम स्थिरिकरण कोषमा जम्मा गर्छ । जसमा हाल १२ अर्ब रुपैयाँभन्दा बढी रकम छ ।
नेपालको पेट्रोलियम भण्डारण क्षमता सीमित छ ।
निगमका अनुसार, पेट्रोल ७–८ दिन, डीजल १०–१२ दिन, हवाई इन्धन ८–१० दिन र मट्टितेल एक महिनासम्म धान्न सक्छ । एलपी ग्यासको भण्डारण भने निजी ग्यास उद्योगहरूमा निर्भर छ, जसले करिब ५ दिनको माग धान्न सक्छ ।
इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्ने सम्भावनाले विश्व बजारमा तेलको मूल्य प्रतिब्यारल १०० डलरसम्म पुग्न सक्ने अनुमान भइरहेका छन् । यस्तो अवस्थामा नेपालमा मूल्यवृद्धिको मारबाट जोगिन चुनौतीपूर्ण हुने विज्ञहरू बताउँछन् ।