Logo
Logo

बदनाम हुँदै सहरी विकासमन्त्री सिंह


2.6k
Shares

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह आफ्नै सचिवालयमा कार्यरत केही व्यक्तिका कारण दिनदिनै विवादित र आलोचित हुन थालेका छन् ।

सिंह अहिले आफनो राजनीतिक जीवनको उत्तरार्धमा छन् । उनले सहरी विकास जस्तो महत्वपूर्ण मन्त्रालय सम्हालेका छन् । गणेशमान सिंहका पुत्र भएका कारण नेपाली नागरिकले उनीबाट धेरै आशा गरेका छन् । तर अफसोच, नागरिकले गरेका आशालाई सिंहले दिनदिनै निराशा बनाउँदैछन् ।

मन्त्री सिंह असफल हुनुको मुख्य कारण उनको सचिवालयमा कार्यरत एक–दुई जना व्यक्ति हुन् । ती व्यक्तिहरू यतिबेला मन्त्रीको कार्यकाल सफल र ऐतिहासिक बनाउनेभन्दा पनि आफ्नो निहीत स्वार्थ र आर्थिक उपार्जनमा केन्द्रित छन् । कतिपय विषय मन्त्रीलाई समेत थाहा नदिई ‘मन्त्रीज्यूको चाहना भन्दै आफनो स्वार्थका लागि काम गराउने गरेका छन् । सचिवालयमा बसेकाहरुले मन्त्रीको नाम लिंदै ब्यक्तिगत दुनो सोझ्याउँदैआएका एक होइन, धेरै उदाहरण सहरी विकास मन्त्रालयकै अधिकारीहरु दिने गर्दछन् ।

आर्थिक बर्ष २०८२÷८३ को बजेट बनाउने बेलामा सिंहको सचिवालयमा कार्यरत यूपी लामिछाने र उज्जल बज्राचार्य निकै हावी भएका थिए । मन्त्रालय स्रोतका अनुसार यी दुई व्यक्तिको आगाडि भवन विभागका महानिर्देशक मच्चाकाजी महर्जन र स्थानीय पूर्वाधार विभाग (डोली)का महानिर्देशक महेशचन्द्र न्यौपानेसमेत निरीह देखिएका थिए ।

स्रोत भन्छ, यी दुई दाजुभाइले मध्यबानेश्वरस्थित मन्त्रालय मातहतको नगरविकास कोषको कार्यलयमा एउटा कोठा लिई त्यही कोठालाई अघोषित सम्पर्क कार्यालय बनाएका छन् । योजना छनौट गर्दा होस् या कसकै सरुवा तथा खटनपटनमा होस्, त्यही कार्यालयमा बोलाई बार्गेनिङ गर्ने गरेको आरोप उनीहरुमाथि लाग्ने गरेको छ ।

मन्त्रीले काम गर्दै जाँदा कहीँ कमजोरी भयो भने सचिवालायमा कार्यरत व्यक्तिले देखिएको ग्याप पुर्नुपर्ने हो । कमीकमजोरी देखाउनुपर्ने हो । र, मन्त्रीलाई विवादरहित बनाउनुपर्ने हो । तर सचिवायमा कार्यरत केही व्यक्तिहरुले आफू नै उपप्रधानमन्त्री हुँ भन्ने जस्तो ठानेर आफ्नो राजनीतिक गुटलाई मलजल गर्ने र राजनीतिक आग्रह र पूर्वाग्रह राखेर काम गर्दैआएका छन् । पार्टीभित्र पनि राजनीतिक आग्रह पूर्वाग्रह राख्ने र आफूनिकट गुटका व्यक्तिहरुलाई प्रश्रय दिने गरेका छन् ।

स्रोत भन्छ– युपी र उज्जलका कारण अहिले मन्त्री छायाँमा मात्र परेका छैनन्, दिनदिनै विवादित र असफल बन्दै गएका छन् । स्रोत भन्छ–अहिले देशभरी प्रकाशमान सिंहका विरुद्ध माहौल बढ्दै जानुमा सचिवालयमा कार्यरत एक दुई जना व्यक्ति प्रमुख जिम्मेवार रहेको नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुको बुझाइ रहेको छ । कांग्रेसका एक नेताले भने–‘सचिवालयमा कार्यरत एक दुई जना व्यक्तिले प्रकाशमान सिंहलाई दिनदिनै बदनाम गराइरहेका छन् । यो कुरा मन्त्रीज्यूले तुरुन्त बुझेर आवश्यक कदम चाल्नुपर्छ । नभए उहाँ झनै विवादित र बद्नाम हुनुहुनेछ ।’

आगामी आर्थिक वर्षको योजना छनौटमा थुप्रै टुक्रे कार्यक्रम राखिएको छ । गणेशमान सिंहको नाममा मात्र ३०–३५ वटा कार्यक्रम राखिएको छ । केही एकदमै अनुपात्दक र अनावश्यक कार्यक्रम राखिएका छन् ।

युपी र उज्जलको व्यक्तिगत पहुँच र चिनजानका आधारमा अर्ब भन्दा बढी रुपैयाँका कार्यक्रम राखिएका छन् । जुन कार्यक्रम कार्यान्वयन गर्न सम्भव पनि छैन । टुक्रे कार्यक्रमहरु पनि धेरैजसो युपी र उज्जलकै सिफारिसमा छनौट भएका छन् । सिंहको कार्यकाल ऐतिहासिक बनाउनेगरी कुनै कार्यक्रम राखिएको छैन । न त मन्त्रीलाई कुनै काम गर्न दिइएको छ ।

मन्त्रालयका एक उपसचिव भन्छन्–‘मन्त्रीज्यू सोझो हुनुहुन्छ । केही गरौं भन्ने चाहना देखिन्छ तर उहाँलाई आफ्नै सचिवलायबाट ठूलो भ्रममा पार्ने काम भइरहेको छ ।’ यहाँसम्म कि मन्त्रालयका विषयमा केही आलोचनात्मक समाचार आयो भने पनि सिंहलाई थाहा नदिने वा गुमराहमा राख्ने गरिएको छ । सबै ठिक भइरहेको छ, सबैतिर प्रशंसामात्र भइरहेको छ भन्ने समाचार सुनाउने गरेका छन् यी दुई दाजुभाइले ।

प्रतिक्रिया दिनुहोस्