Logo
Logo

जुलाइबाट युरोपमा नेपाली कामदार पठाउने तयारी 


2.4k
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई नवीन र प्रभावकारी ढङ्गले अगाडि बढाउने योजना रहेको बताएका छन् । आगामी जुलाईबाट युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने व्यवस्था गरिएको र उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउन तयारी भइरहेको उनले जानकारी दिए ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनले नेपालको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई आन्तरिक रोजगारीमा जोड्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे । श्रम आप्रवासन नीति तर्जुमा अन्तिम चरणमा रहेको र सबै स्थानीय तहमा एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्न कार्यक्रम तय गरिएको उनले बताए ।

साथै, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्ड र मानवअधिकारको सम्मान गर्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र सुविधा सुनिश्चित गर्न थप पहल गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्