काठमाडौं । झापाको कमल गाउँपालिका–१, कृष्णखोलाको किनारमा मङ्गलवार बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई कपडाविहीन अवस्थामा अन्दाजी १२ वर्षीय बालकको शव बगाएर आएको सूचना प्राप्त भएको थियो ।

प्रहरी टोली तत्काल घटनास्थल पुगी शवको पहिचान गर्दा मृतक स्थानीय मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुसान भएको पुष्टि भएको छ । प्रहरीका अनुसार, सुसान २०८२ असार ८ गते अपराह्न ३ बजे घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए ।
आफन्त र छिमेकीले खोजी गर्दा नभेटिएपछि उनका पिताले असार ९ गते इलाका प्रहरी कार्यालय तोपगाछीमा हुलियासहित निवेदन दिएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














