काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले काठमाडौं महानगरपालिका–१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई झण्डै पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले पीडितलाई असई पदमा नाम निकालिदिन्छु भनी विश्वास दिलाई इ–सेवा आईडी र विभिन्न बैङ्क खातामा कूल ४ लाख ९१ हजार रकम ठगी गरेका भेटिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट असार ८ गते क्षेत्रीमाथि पक्राउ पुर्जी जारी भएको थियो । अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका क्षेत्रीलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ ।