काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकममा प्रकाशित समाचारका विषयमा विशेष अदालतले प्रकाशक शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुम्बा र संवाददाता विरुद्ध गरेको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा गत आइतबार प्रकाशित समाचारप्रति अदालत प्रशासनले आपत्ति जनाउँदै प्रकाशक श्रेष्ठ, सम्पादक एमपी सुम्बा र संवाददाता विरुद्ध अदालत अवहेलनाको आरोपमा मुद्दा दायर गरेको थियो ।
अदालतसँग सम्बन्धित समाचारका विषयमा अदालतले आफैं प्रतिवेदन बनाएर विशेष इजलासमार्फत जारी आदेशले अदालतका काम कारबाहीका विषयमा टिकाटिप्पणी गर्ने, समाचार संकलन तथा प्रकाशन प्रसारण गर्ने विषयलाई नै खुम्च्याएको प्रदेश समितिको ठहर छ ।
महासचिव आशिष गुरागाईले विज्ञप्ति जारी गर्दै कुनै पनि अदालतले गरेका काम कारबाहीका विषयमा प्रश्न गर्दा भविष्यमा समेत कोही कसैबाट पनि त्यस्ता टिकाटिप्पणी गर्न तथा प्रश्न गर्न नै निष्तेज पार्ने मनसाय नराखी न्याय सम्पादन गर्न अदालतसँग अपिल गरेका छन् ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको दृढ पक्षधर भएको उल्लेख गर्दै उनले राज्यका कुनै पनि निकायले संविधान, प्रचलित कानून र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार कार्य गर्नुपर्ने भन्दै कुनै समाचारप्रति असन्तुष्टि छ भने प्रेस काउन्सिल नेपालजस्ता नियामक निकायमार्फत प्रक्रिया अघि बढाउन सकिने स्मरण गराएका छन्
पछिल्ला दिनमा विशेष गरेर न्यायापालिका र कार्यपालिकाबाट प्रेस जगतमाथि आवश्यकता भन्दा बढी चासो र सक्रियता बढाउने, आफ्ना काम कारबाहीका विषयमा प्रश्न गरे प्रेस जगतको घाँटी निमोठ्न खोज्ने, प्रेस जगतलाई निरुत्साहित गर्ने, समाचारका विषयलाई फौजदारी भियोजनतर्फ लैजाने कार्य बढिरहेकोप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
साथै समितिले यस्ता क्रियाकलापले पत्रकारहरूलाई भयभीत नबनाओस् भन्ने अपेक्षा राख्दै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बद्ध निकायसँग माग गरेको छ ।