काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। शुक्रवार सिन्धुपाल्चोक प्रहरीले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो ।

भोटेकोसी गाउँपालिका ५ छ्याङ्दीस्थित जङ्गलमा बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिकाको हत्या असार १० गते राति साढे १० बजेतिर भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका ५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षका वाङनिमा तामाङ, ३२ वर्षका नामग्याल शेर्पा, २० वर्षका दावा तामाङ र २२ वर्षका लाक्पा पासाङ तामाङ रहेका छन्।
बालिकालाई आफ्नै घरभन्दा चारसय मिटर टाढा लगेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । प्रहरीले तालिमप्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको छ । एसपी कार्कीको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि घरमा समेत खानतलासी गरेको थियो । थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद लिइएको छ । सुरुमा चार जना र पछि एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितहरूले सामूहिक बलात्कार गरिसकेपछि घटना लुकाउन हत्या गरेको प्रहरीसँग प्रारम्भिक सोधपुछका क्रममा बताएका छन् । थप अनुसन्धान भइरहेको छ।