काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एक होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–८, सिरहा बस्ने ४० वर्षीय मोहम्मद अक्टर मिया र कमला नगरपालिका–८, धनुषा बस्ने ४२ वर्षीय सामन यादव छन् ।

सशस्त्र प्रहरी बलको इन्स्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा दर्शन नमस्ते इन होटलबाट उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट ब्राउन सुगर जोख्ने तराजु १ थान, मोबाइल ३ थान, पासपोर्ट २ थान, नागरिकता १ थान र नगद १२,१७५ रुपैयाँ पनि बरामद गरिएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका दुवै जनाले लामो समयदेखि धनुषाका विभिन्न स्थानबाट लागूऔषध ल्याएर काठमाडौंमा बिक्री गर्दै आएका थिए । उनीहरूलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।