काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल र नेपाली कांग्रेस सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबिच संसद्मा आरोपप्रत्यरोप चलेको छ ।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए ।

उनले भनेका थिए– ‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।’
आइतबार खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’
आफू नेपालमै केही गरेर खाने मान्छे रहेको चोरेर खाने मान्छे नरहेको उनले बताए । उनले घडीको प्रशंग उठाउँदै रामहरीमाथि छेडखान समेत गरे । उनले भने– ‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ ?’
आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको उदाहरण नरहेको पनि उनले बताए ।
आफ्नो कम्पनीले काम गर्दै आएको र गलत नगरेको उनको भनाइ छ । ‘हामीले कस्तो समाज निर्माण गरेछौं र गर्दैर्छौं ? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने !,’ अर्यालले असन्तुष्टि जनाए ।
आफूहरूले भिजिट भिसाको नाममा भरहेको मानव तस्करीको विषय संसद्मा ३२ दिन देखि उठाइरहेको स्मरण गर्दै उनले विषयान्तर गर्नको निम्ति अनावश्यक लान्छना लगाउने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गरे ।
विषयान्तर गराउने प्रयास अन्तर्गत निराधार आरोप लगाउने कार्य स्वीकार्य हुन नसक्ने अर्यालको चेतावनी छ । राजनीतिलाई पेशा बनाएर वर्षौंदेखि राज्यको दोहन गर्नेहरूले पेशा व्यवसाय गरेर खानेमाथि अनावश्यक आरोप लगाएको भनेर उनले सभामुखले त्यस्ता अभिव्यक्तिउपर ख्याल गर्नुपर्ने माग राखे ।
‘मेरो कम्पनीबाट मात्र एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ र हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु,’ अर्यालले भने, ‘होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म यसमा सभामुखज्यूबाट रुलिङको माग गर्दछु ।’
भिजिट भिसा प्रकरणमा आफूहरूको आन्दोलन जारी रहने पनि उनले बताए ।














