काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले सन् २०३० सम्ममा प्रकृतिमा आधारित व्यवसाय, स्थानीय नवप्रवर्तन र कम कार्बन उत्सर्जनमार्फत पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा सोमबार काठमाडौँमा आयोजित ‘जैविक र चक्रीय अर्थतन्त्रमा भुटान-नेपाल संवाद’ कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले योजना आयोगको नीति र साझेदारीले ठोस परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले नेपाल र हिन्दु कुश हिमाली क्षेत्रका लागि समावेशी, दिगो र उत्थानशील भविष्य निर्माण गर्न साझेदारीमा लगानी आवश्यक रहेको बताउँदै हरित रोजगारी, जलवायु-स्मार्ट उद्यम र पर्यावरणीय प्रणाली निर्माणमा नेपाल प्रतिबद्ध रहेको जोड दिए ।
उनले साझा अनुभव र आपसी सिकाइले पहुँच, लाभ साझेदारी र चक्रीय अर्थतन्त्रमा सहकार्यका लागि नयाँ अवसर सिर्जना गर्ने बताए । ‘उद्यमशीलता केवल आर्थिक गतिविधि होइन, यो समावेशी र जलवायु-लचिलो विकासको शक्तिशाली चालक हो,’ उनले भने , ‘नेपाल सरकारले राष्ट्रिय नीति र कार्यक्रममार्फत यो कुरा स्पष्ट गरेको छ ।’
उपाध्यक्ष अधिकारीले नेपालले पछिल्ला वर्षहरूमा स्टार्टअप र नवप्रवर्तन नीतिमार्फत महत्त्वपूर्ण आधार तयार पारेको उल्लेख गर्दै उद्यमशीलताको इकोसिस्टममा मेन्टरशिपको आवश्यकता औँल्याए । ‘मेन्टरशिपलाई वैकल्पिक सेवाको रूपमा होइन, अर्थतन्त्र र समुदाय रूपान्तरणको रणनीतिक आधारको रूपमा अँगाल्नुपर्छ,’ उनले भने ।
नेपालको उद्यमशीलता इकोसिस्टममा मेन्टरशिपलाई संस्थागत गर्न व्यवसायीहरूले चालेको कदमलाई उनले कोसेढुङ्गाको रूपमा व्याख्या गरे । ‘मेन्टरशिपमा लगानीले स्थानीय समस्याको समाधान, सम्मानजनक रोजगारी सिर्जना र प्रकृति तथा समुदायलाई सम्मान गर्ने व्यवसाय निर्माणमा जनताको क्षमता अभिवृद्धि गर्न सकिन्छ,’ उनको दाबी छ । कार्यशालामा भुटान चेम्बर अफ कमर्स, नेसनल बायोडाइभर्सिटी सेन्टर र नेपालका उद्यमीहरूको सहभागिता रहेको थियो ।