Logo
Logo

शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षामन्त्रीको हारगुहार, सांसदहरू कुरेको कुर्‍यै


1.3k
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सत्ता साझेदार नेपाली कांग्रेसको कार्यालय सानेपा पुगेका छन् ।

विधेयकका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ । शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको थियो । शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाए ।

मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए ।
लगत्तै शिक्षामन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन् । सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।

बैठककै बीचमा मन्त्री पन्त पुगेपछि देउवाले भेट गरिरहेका छन् । महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।

यद्यपि सो विषयमा सहमति जुट्न सकेको छैन । हिजै (आइतबार) समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।

समिति सभापति अम्मर बहादुर थापाका अनुसार मन्त्री पन्त फर्किएपछि समितिमा छलफल हुने छ । समितिको बैठकका लागि बिहान साढे ८ बजेदेखि नै सांसदहरू सिंहदरबार पुगेका थिए । उनीहरू अहिले पनि कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्