Logo
Logo

कांग्रेसले एमाले बाहेकको चुनावी गठबन्धन बनाउनुपर्छ  : डिला संग्रौला


2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी निर्वाचनमा एमाले बाहेकका दलहरूसँग चुनावी गठबन्धन गर्न पार्टी तयार हुनुपर्ने बताएकी छन् । मङ्गलवार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले एमालेलाई कांग्रेसको प्रमुख प्रतिस्पर्धीका रूपमा चित्रण गर्दै आवश्यक परे अन्य दलसँग गठबन्धन बनाउन सक्रिय हुनुपर्ने धारणा राखिन् ।  

The current image has no alternative text. The file name is: congress.jpg

‘आउँदो निर्वाचनमा एमाले हाम्रो मुख्य प्रतिद्वन्द्वी हो । आवश्यक परे एमाले बाहेकका दलसँग गठबन्धन बनाउन हामीले पहल गर्नुपर्छ,’ संग्रौलाले भनिन् ।  वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ । ‘हाम्रा मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ। राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने, तर नराम्रा कामको दोष हाम्रा मन्त्रीहरूलाई लाग्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भनिन् । 

उनले सरकारमा पार्टीको प्रभावकारी सहभागिता सुनिश्चित गर्न र मन्त्रीहरूको उत्तरदायित्व बढाउन स्पष्ट रणनीति बनाउनुपर्नेमा जोड दिइन् । पार्टीको साङ्गठनिक विशेष अभियानका लागि धनकुटामा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएकी संग्रौलाले जिल्लास्तरमा पार्टीको वस्तुगत अवस्थाबारे जानकारी गराइन् । उनले पार्टीभित्र आन्तरिक मनमुटाव र गुटबन्दी तल्लो तहसम्म फैलिएको, भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ भएको, नेता–कार्यकर्ता र जनप्रतिनिधिबीच दूरी बढेको जस्ता समस्याहरू औँल्याइन् । 

‘पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द गर्नुपर्छ, यो कडाइका साथ लागू गर्नुपर्छ,’ उनले भनिन्। सभापतिले तोकिएको समयमा महाधिवेशन हुने बताए पनि मङ्सिरमा सम्भावना कम रहेको उनको भनाइ छ। उनले महाधिवेशनको मिति र कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरिन्।  संग्रौलाले नेविसंघ, तरुण दल र महिला सङ्घ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले सङ्गठनमा गम्भीर असर परेकोतर्फ नेतृत्वको ध्यानाकर्षण गराइन् ।

‘महाधिवेशन निर्देशन समितिको भूमिका प्रभावकारी देखिएन । भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्छ। यदि नेतृत्वले जिम्मेवारी पूरा गर्न सक्दैन भने नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले सुझाइन् ।  पार्टीको आन्तरिक एकता र साङ्गठनिक सुधारका लागि नेतृत्वले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्