काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र रवैयाका कारण पैदा भएको उकुसमुकुस र सकस छताछुल्ल भएको छ । एमालेमा ओलीपछि दोस्रो वरियताका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत शनिबार राष्ट्रिय सभा गृहमा ‘जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रम’मा एमालेमा हराएको आन्तरिक लोकतन्त्रको बाटो खुलस्त पारिदिए ।

भीम रावल भइने त्रासले एमालेका नेताहरू खुलेर बोल्न डराइरहेको बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि उपाध्यक्षत्रय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’, अनुशासन आयोग अध्यक्ष केशव बडाल, सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोरा, सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेलसहित पोलिटब्युरो, केन्द्रीय सदस्य, सांसदहरूको ठूलो पंक्तिका माझ पोखरेलले बहसको बाटो खोलिदिए ।
एमालेले पछिल्लो समय बाटो बिराएको दाबी गर्दै पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्रको विषय जोडदार रूपमा उठाएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई छेवैमा राखेर अध्यक्ष ओलीविरूद्ध पोखरेलले खुलस्त आलोचना गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बुटवलको आठौँ महाधिवेशनपछि सदैव ओली खेमामा रहँदै आएका पोखरेलले पहिलो पटक उनीविरूद्ध अभिव्यक्ति दिएका हुन् ।
जहिल्यै संस्थापन पक्षमा रहन रुचाउने नेताको छवि बनाएका पोखरेलले ओलीको गिर्दो साख नजिकबाट बुझेर कित्ता फेरेको चर्चा छ । पोखरेलले विगतदेखि भन्दै आएका छन्–म जहाँ उभिन्छु, त्यही संस्थापन पक्ष हो । अभ्यासमा पनि त्यही देखिँदै आएको छ ।
एमालेमा माधवकुमार नेपाल शक्तिशाली हुँदा पोखरेल उनकै नजिक थिए । उनी आठौँ महाधिवेशनमा झलनाथ खनालसँग उभिँदा ओलीलाई पराजित गरेर खनाल अध्यक्ष बनेका थिए । नवौँ महाधिवेशनमा ओलीसँग उभिँदा नेपाललाई पराजित गरेर ओली अध्यक्ष बनेका थिए । अहिले पोखरेल विद्या भण्डारीको कित्तामा खुलेर उभिएका छन् । बहुमत पदाधिकारी पनि विद्याकै पक्षमा खुलेका छन् । एमालेमा ईश्वरको वरदान पाए मात्रै नेतृत्वमा पुग्न सकिने घटनाक्रमले देखाएको छ । एमाले अध्यक्ष ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पोखरेलको एमालेभित्रको वैधानिक संरचना, नेतृत्वशैली र लोकतन्त्रान्त्रिकरणको विषयमा खुलस्त विचार प्रकट गरेर बहसका निम्ति आह्वान गरे ।
प्रमुख अतिथि भए पनि सुरुमै सम्बोधन गरेर हिँडेका ओलीले जबजलाई विकास निर्माणमा केन्द्रित गर्न खोजेपछि पोखरेलले जबजलाई सामान्य विकास निर्माणसँग जोड्न नहुने भन्दै जबज पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्न भएको औंल्याए । ‘विकास निर्माणका कुरा जति बेला सरकारमा हुन्छौँ, नीति कार्यक्रमलाई लागू गर्ने कोसिस गर्छौँ । सरकारमा नभएको बेलामा ती कुराहरू पूरा हुनुपर्छ भनेर दबाब दिन्छौँ । यो हाम्रो स्थापित कुरा हो । तर म त भन्छु पार्टी जीवनको लोकतान्त्रीकरण जनताको बहुदलीय जनवादको अविच्छिन्न अंग हो । त्यसलाई तल–माथि पार्न सकिँदैन ।’ पोखरेलले ओलीलाई चुनौती दिँदै भने ।
विगतमा ओलीले २०५९ सालमा जनकपुरमा भएको सातौं महाधिवेशनदेखि नै पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्न उठाउँदै आएको स्मरण गराउँदै पोखरेलले पछिल्लो समय लोकतान्त्रिकण हुन नसकेको स्पष्ट पारे ।
एमालेले नवौं महाधिवेशनमा दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने र ७० वर्षे उमेर हदको प्रावधान ल्याएको थियो । तर, एमालेले विधानबाट दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था लुसुक्क हटाएको छ । त्यसप्रति पोखरेलले कटाक्ष गर्दै भनेका छन्, ‘नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन हेर्नुहोला । पार्टी जीवनको लोकतान्त्रीकरणको यावत कुराहरू त्यहाँ उल्लेख छन् ।
नवौं महाधिवेशनपछि एमाले आदर्शको रूपमा प्रस्तुत भयो । गौरवपूर्ण रूपमा देखियो ।’ पोखरेलले चुनौती दिँदै भनेका छन्, ‘एमाले र माओवादीबीचको एकतापछि विचारै त्याग्ने काम भयो । विभिन्न कारणले एमाले र माओवादीको एकता कायम रहन सकेन । एमालेले पुनर्जीवन प्राप्त ग¥यो । त्यसपछि २०७८ सालमा विधान महाधिवेशन भयो । त्यसपछि चितवनमा दशौँ राष्ट्रिय महाधिवेशन आयोजना गरियो । त्यति बेला पारित भएका राजनीतिक दस्ताबेज, विधान जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टी जीवनको लोकतान्त्रीकरणबारे के के निर्णय गरेका थियौं, ती सबै सुरक्षित छन् ।’
नेतृत्व हस्तान्तरणमा जोड
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । मदन भण्डारीले अघि सारेको दृष्टिकोण यसैको मर्म भएको पनि उनले औँल्याएका छन् । विश्वका कतिपय देशका कम्युनिस्ट पार्टीहरूले नेतृत्व हस्तान्तरण नगर्ने र अधिनायकवादी बाटोमा अग्रसर हुँदै गरेको अनुभवको आधारमा पनि यो दृष्टिकोण अघि सारिएको उनको तर्क छ ।
‘कम्युनिस्टहरूलाई जनताले जिताउने, तर तिनै कम्युनिस्टहरू पछि जनताबाटै विस्थापित हुने अवस्था किन आउँछ? कम्युनिस्टहरू अनिर्वाचित हिसाबले जाने, सत्ता हस्तान्तरण नगर्ने खालका जुन प्रवृत्ति देखा परेका छन्, यी सच्याउनुपर्छ। उनीहरूको अधिनायकवादी शैली सच्याउनुपर्छ भनेर निकालिएको निष्कर्ष हो ।’ पोखरेलले भनेका छन् ।
उनले जबज कम्युनिस्ट आन्दोलनको शुद्धीकरणसँग सम्बन्धित विषय भएको पनि बताए । उनले पार्टीभित्र फरक विचार हुनसक्ने औंल्याउँदै त्यसलाई विधिसम्मत हल गर्नुपर्ने दृष्टिकोण अनि अघि सारे । निषेध गरेर जान खोजिए विस्फोट हुने चेतावनी पनि उनले दिए । ‘द्वन्द्व सर्वत्र छ । प्रकृतिमा, मानव समाजमा, राजनीतिक प्रणालीमा, पार्टीहरूमा सबैतिर छ। द्वन्द्व छ र सर्वव्यापक हो भने त्यसलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ। विधिसम्मत ढंगले प्रकट हुन दिइएन भने त्यसले विस्फोटको रूप लिन्छ। ठूलो क्षति पु¥याउँछ,’ उनले भने ।
७० उमेर हद र कार्यकालमा अडान
कार्यकारी पदमा दुई पटक र ७० वर्षे उमेर हदको प्रावधान स्थगन गरिएकाप्रति एमाले पंक्तिभित्र असन्तुष्टि बढ्दै गएको छ । ७० वर्षे उमेर हद लागु हुँदा ओलीसहित एमालेका धेरै पदाधिकारी आउट हुन्छन् । त्यसमा पोखरेल पनि पर्छन् । तर, उनले ७० वर्षे उमेरहद कायम हुनुपर्ने अडान राखेका छन् ।
एमाले विधान महाधिवेशनको सँघारमा रहेको बताउँदै पोखरेलले अहिले चलिरहेको ७० वर्षे उमेर हद र कार्यकाल बहस ‘बेमौसमी’ नरहेको जिकिर गरे । ‘विधान महाधिवेशन आउँदैछ भनेर त सचेत कार्यकर्ता कुरा गर्छन्, के गर्दा ठीक होला भनेर सरसल्लाह गर्छन् नि । विधान महाधिवेशन आउँदै गर्दा कार्यकर्ताहरूलाई खबरदार बोल्न पाउँदैनस् भन्न मिल्छ ? मिल्दैन । मान्छेले कुरा त गर्ने भए नि ! बहस गर्न पाइन्छ । छलफल गर्न पाइन्छ । बेलै यही हो त कुन बेला गर्ने त ?’ पोखरेलले भने ।
पार्टी विभाजनको जिम्मा नेतृत्वले लिनुपर्छ
ओलीले एमालेका निम्ति २०७७, २०७८ र २०७९ साल निकै चुनौतीपूर्ण रहेको बताएका थिए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको नाम नलिई गत शनिबार पनि कडा शब्दमा निन्दा र भत्र्सना गरेका थिए । तर, वरिष्ठ उपाध्यक्ष पोखरेलले त्यसको जबाफ दिए । उनले राजनीतिक पार्टीभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुने र त्यसले विग्रहको रूप लिने सिद्धान्तसम्मत विषय भएको बताए ।
‘राजनीति दलभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुन्छ । विग्रह निम्त्याउने, गर्नेहरूलाई मात्रै दोष दिएर हुँदैन। हाम्रो कार्यसम्पादन गर्ने शैलीमा कहाँ त्रुटि छ भन्ने कुरा ख्याल गर्नुपर्छ। यो दर्शन र सिद्धान्तले बताएको कुरा हो,’ उनले भने ।