महत्वपूर्ण राजनीतिक परिवर्तनपछि मुलुकमा केही अन्योलता अक्रमण्यता, निराशा, कुण्ठा र अस्थिरता जहाँपनि देखिन्छ । यद्यपि, बिस्तारै नयाँ ब्यवस्था र त्यसका नेतृत्वले ती अन्योलता र निराशालाई चिर्दै अघि बढ्न सक्नुपर्छ । आमजनतामा ब्यबस्था र नेतृत्वप्रति बिश्वास पैदा गर्दै असल शासकको रुपमा आफुलाई प्रमाणित गर्न सकेमात्र मुलुकले समृद्धिको दिसा समाउन सक्छ ।

बिडम्बना नै भन्नुपर्छ, हामीकहाँ जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा करिब पाँचपटक ब्यबस्था परिवर्तन भए । परन्तु नेपालमा असन्तुष्टी, निराशा, अन्योल र अस्थिरताका पहाडहरु एकपछि अर्को अग्लिँदै गइरहे । अबपनि देशमा अविश्वास र असन्तुष्टीको उपयुक्त समाधान नखोज्ने हो भने नकारात्मकताका झिल्काहरुले आगोको रुपधारण गर्ने निश्चित छ । त्यो असन्तोषको आगोले क–कसका अधिपत्यहरु डढाएर खरानी बनाउने हो ? अहिलेलाई ठोकुवा होइन, अनुमान मात्रै गर्न सकिन्छ ।
आमनागरिकको नजरमा जुनसुकै पार्टी वा नेताको समर्थन गर्ने कार्यकर्ता अचेल झोले देखिन्छन् भने दलका नेताहरु आफ्नै जनबिरोधी व्यबहारले गर्दा पुराना हिन्दी चलचित्रका खलनायक जस्ता सरकारी कार्यालय र कर्मचारीहरु घुस अनि भ्रष्टाचारको मोलमोलाई संकलन गर्ने अखडाझैँ देखिन्छन् ।
सुरक्षा निकायहरु अपराधी र भ्रष्टाचारीका कठपुतली जस्तै बन्न बाध्य छन् । न्यायालय र काला कोटधारीहरु पैसामा न्याय बेच्ने ब्यापारी जस्ता भएका छन् । स्वतन्त्र भनिएका पत्रकारहरु गुलामीको शिरफूल लगाएर जिबिकोपार्जन गरिरहेकाछन् ।
यस्तै, स्वास्थ्य क्षेत्र नागरिक लुट्ने र मानब अंग तस्करी गर्ने थलो जस्तो, शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो, केही ठुला र पहुँच वाला ब्यबसायी तस्कर र माफिया जस्ता, नागरिक स्वयं झुटो आश्वासन र कौडीको भाउमा बिक्ने अचेत जस्ता, युवाहरु आफ्नो नशामा बगिरहेको तातो रगत र जोश गुमाएर हाटबजारमा बेच्न राखिएका खसी–बोका जस्ता, बृद्धहरु सहाराबिहीन भएर मक्किएका झिक्राजस्ता, बालबालिकाहरु अभिभावकबिहीन टुहुरा जस्ता र यी सबैको नेतृत्व गर्ने शासकहरु लाइसेन्स प्राप्त वैधानिक अपराधी जस्ता देखिनु सामान्य जस्तै बन्दै गइरहेको छ ।
हामीले महान र आदर्शवान मान्ने नेताका आदर्शहरु– बिपीको समाजवाद, पुष्पलालको समावेशिता, मदन भण्डारीको जनताको बहुदलीय जनवाद, माओवादीको क्रान्ति सबै झोलाभित्र थन्किएका पोस्टर बनेका छन् । ती विचार बोकेका हजारौं कार्यकर्ता आज झोलेको दर्जामा अपमानित छन् र ठगहरू नेताको उपमाले सम्मानित । यो पनि अहिलेको क्रूर विडम्बना हो । यी सबै परिदृश्यबाट आजित भएरै होला, अचेल गाउँ होस् कि सहर, समाचार, चिया पसल, सडक, चोक, मेला, सम्मेलन, मलामी, जन्ती, शोक वा सान्त्वना– हरेक ठाउँमा एउटै स्वर गुञ्जन्छ ः के देश अब लयमा फर्केला त ?, साँच्चै देश बनाउने नेतृत्व देशले कहिले पाउला ?
बेरोजगारी र पलायन कहिले रोकिएला ? बेचिएका उद्योग, कलकरखानाहरु कहिले सञ्चालन होलान् ? समयानुकूल दीर्घकालीन सोचसहितको बिकास देख्न अझै कति पुस्ताको बाटो हेर्नुपर्ला ?
साँच्चै अपराध र भ्रष्टाचार गर्नेहरुलाई सजाय र इमान्दारहरुले प्रोत्साहन पाउने अवस्था आउला कि ? यस्ता सयौं प्रश्नहरु आमनागरिकको मुखमै झुण्डिएका छन । तर, राय सबैको एउटै छ कि– यिनिहरुबाट समाधान सम्भव छैन ।
सबैलाई थाहा छ कि समस्या देख्न, देखाउन र भन्न जति सजिलो छ, समाधान गर्न हिम्मतिलो कदम चाल्न त्योभन्दा दश गुणा गाह्रो छ । न्युन आयश्रोत र अत्याधिक खर्चको खाडललाई पुर्न देशको ठुलो जनशक्ती आफ्नै ब्यक्तीगत ब्यबस्थापनको लडाइँमा रुमल्लिनुपर्ने बाध्यतामा छ ।
त्यसैले देश बनाइदिने जिम्मा हामिले चुनेका प्रतिनिधिको हो भन्ने बुझ्नु हाम्रो गल्ती होइन । यहाँनेर केवल नेतालाई मात्र दोषारोपण गर्न हामीलाई छुट छैन । बरु हाम्रो सामूहिक चेतनाको अपरिपक्वताले आज नेताको झोलाभित्र देशलाई सस्तो सपनाको तौल बनाएर राखेको भने सत्य हो । जब देश बनाउने जिम्मा संविधानमा लेखिएको अधिकार होइन, भोजभतेर खुवाउने क्षमताको आधारमा दिइन्छ, तब व्यवस्थाले नेतृत्व होइन शोषकहरु उत्पादन गर्छ ।
जसले आज कानुनका नाममा लुट, शासनका नाममा अत्याचार र राष्ट्रवादका नाममा सेटिङ धन्दा चलाउँछन् । हामी एकदिन विवेक गुमाउने र बाँकी तीन सय चौसट्ठी दिनसम्म भोट दिएका नेतालाई सराप्ने प्राणी बनेका छौं ।
नेताले गोजीमा दुई सय रुपैयाँ, भोजमा एक छाक मासु, जातको नारा, दलको झण्डा र मीठो भाषण पस्किए भने हामी भोट दिन तयार हुन्छौं । अनि भोलिपल्टदेखि उसैलाई ‘लुटाहा, धूर्त र भ्रष्ट’ भनेर गाली गर्न थाल्छौं । फेरि अर्को चुनाव आउँछ, झोलाको रंग फेरिन्छ । हामी फेरि त्यही झोला पछ्याउँछौं । यसैको भरमा राजनीतिक दलभित्र व्यापारी घुस्छन्, अपराधी सांसद बन्छन्, मानव तस्करी संरक्षित हुन्छन्, कर्मचारीतन्त्र सेटिङमा चल्छ, नीति गुटले निर्धारण गर्छ, सत्ता हस्तान्तरण होइन, खरिद बिक्रीको सौदाबाजी हुन्छ ।
अरु थोत्रिएका पुराना दलको के कुरा गरौँ ? जान्नेलाई छान्ने भन्दै छाती उधिनेर राजनीतिमा आएका नयाँ भनिएकाहरुको हविगत पनि लगभग देखिसकियो । यो नाराले धेरै युवाहरूको मुटु जितेको थियो । शिक्षित, सक्षम र सुसंस्कृत नेतृत्वको आशामा युवाले झण्डा फर्फराए, सामाजिक सञ्जालमा अभियान चलाए, अनि मतपेटिकामा आशा बगाए । तर केही वर्षमै ‘जान्नेलाई छान्ने’ भन्नेहरुले नै नाजानिँदो तरिकाले सिरक ओढेर घ्यू खाइरहेको तथ्य उदाङ्गो भयो ।
हाम्रो कमजोरी को फाइदा लुट्दै हाम्रै वरीपरी भएका दल, र नेताका केही आसेपासे सुसारेहरु, सरकारी कर्मचारी र सरकारी निकायसँग सेटिङ्ग मिलाएर नितिगत भ्रस्टाचार गर्छन् । तस्करी, कालोबजारी, सरकारी अड्डामा पहुँचवालाको नियन्त्रण, सोर्स, फोर्स हुँदै सुन तथा अन्य बहुमुल्य सामानको तस्करी मात्रै होईन, मानब तस्करी जस्तो गम्भिर अपराधमा समेत लिप्त हुन्छन् ।
राजनीतिमा अपराधीकरण बढ्दो छ, सबै दलभित्र दलालका गुटहरु छन् । उनीहरुलाई घुमाउने पंचायती व्यवस्थादेखि जरा गाडेको कर्मचारीतन्त्रको खतरनाक जालो छ । जसले आज पनि खुल्लमखुला बिपीको समाजबाद, मदन भण्डारीको जनबाद, माओको जनक्रान्ती हुँदै कहिले प्रजातन्त्र त कहिले राजतन्त्र बेच्ने काम गरिरहेका छन् ।
समग्रमा यिनिहरुले सम्पुर्ण उत्पीडित वर्गको गरिबी बेचेर आफू सम्पन्नताको ओछ्यानमा ढल्किएका छन् । आज आएर यी सबै ब्यबस्था परिबर्तनमा समय अनुसार महत्वपुर्ण योगदान गरेका असली कार्यकर्ता र जनता अभावताको मरुभूमिमा कुशासनलाई धिक्कारेर बस्नुपरेको छ । यसर्थ, अब हामी इमानदार आमनागरिकले झोला होइन, विवेक बोकेर अघि बढ्ने बेला भएको छ ।
अब गफ होइन, तथ्य हेरेर निर्णय लिने बेला आएको छ । अब आफ्नो जात, जात्रा र जाडो हेरेर भोट हाल्ने होइन, नीति र निष्ठा हेरेर प्रतिनिधि छान्ने बेला आएको छ । हामीले आफ्नो चेतनाको स्तर नबढाएसम्म देश उनै भ्रष्ट नेतृत्वको दया, पैसाको सिफारिस र सेटिङको व्यवस्थाअन्तर्गत झन् गहिरो दलदलमा फसिरहनेछ । पहिला दलभित्रका दलाल, ब्यक्तीका झोले , दलको आडमा लुकेका तस्कर र भ्रष्टाचारीलाई खेदौं र बास्तविक राष्ट्र निर्माण शक्ति विकास गर्ने विवेक बोकौँ, बिकास र परिवर्तन यहीँबाट सम्भव छ ।