Logo
Logo

सचिवालय बैठकमा रामकुमारी झाँक्रीलाई कारबाही गर्नुपर्ने आवाज


819
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीमाथि अनुशासनात्मक कारबाही गर्नु पर्ने आवाज उठेको छ ।

बिहीबार बसेको सचिवालय बैठकमा झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति सार्वजनिक रूपमा दिएको टिप्पणीमाथि छलफल भएको थियो ।

बैठकमा पार्टी उपमहासचिव मेटमणि चौधरीले झाँक्रीको अभिव्यक्तिबारे सचिवालयलाई जानकारी गराएका थिए । त्यसपछि उपस्थित नेताहरूले झाँक्रीमाथि कारबाही आवश्यक भएको धारणा राखेका थिए ।

गत शनिबार पार्टीको एक कार्यक्रममा झाँक्रीले अध्यक्ष नेपालमाथि गम्भीर प्रश्न उठाउँदै, संकटबाट भागेर होइन, सामना गरेर अघि बढ्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेकी थिइन् । उनले भनेकी थिइन् – “पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो, संकट आयो भनेर भाग्ने भनेको होइन ।”

झाँक्रीले काँधमा ‘सिनो’ राखेर जान नसकिने टिप्पणी समेत गरिन् । “अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,” झाँक्रीले भनेकी छन्, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।”

उनको उक्त अभिव्यक्तिपछि पार्टीभित्र तरंग उत्पन्न भएको थियो । पार्टीले उनलाई स्पष्टिकरण मागेकोमा, पत्र नपाएको भन्दै झाँक्री बिहीबार पार्टी कार्यालय आलोकनगर पुगेकी थिइन् ।

पार्टीले अर्को सचिवालय बैठक साउन २२ गते बस्ने तय गरेको छ । झाँक्रीको स्पष्टिकरणपछि मात्रै थप निर्णय गरिने नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्