काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राईले आज दुवईमा धमाका मच्चाउँदै छन् । वर दुवईस्थित क्लव याक एण्ड यति एभरेष्टले आज साँझ आयोजना गर्न लागेको ‘राजेशपायल राई लाईभ इन दुवई’मा उनले सांगीतिक धमाका मच्चाउने भएका हुन् ।

क्लव याक एण्ड यतिले हरेक साताजस्तो ख्याती प्राप्त नेपाली कलाकारलाई लिएर कार्यक्रम गर्दै आएको छ । यसैक्रममा यसपटक नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय एवं मेगास्टार राजेशपायल राईलाई प्रस्तुत गर्न लागेको हो । त्यसका लागि राजेशपायल दुवई पुगिसकेका छन् ।
दुवईस्थित एयरपोर्टमा ओर्लिदा आयोजक टिमले राजेशपायललाई भव्य स्वागत गरेका थिए । ‘राई इज किङ’का रुपमा प्रख्यात राजेशपायललाई स्वागत गर्न विमानस्थलमा आयोजक टिमका निर्देशक फूर्वा शेर्पा लगायतका प्रतिनिधि पुगेका थिए ।
राजेशपायलको प्रस्तुती भव्य र सभ्य हुनेमा आयोजक विस्वस्त छ । राजेशपायल राई लाईभ कन्सर्टका लागि सर्वाधिक रुचाइएका नेपाली गायक भएकाले पनि आयोजक विस्वस्त भएको हो । आयोजक टिमका एक सदस्यले भने, ‘राई इज किङ अर्थात राजेशपायलको प्रस्तुती भव्य र सभ्य हुनेमा हामी शतप्रतिशत विस्वस्त छौँ । यसमा कुनै सन्देश छैन ।’
दुवईमा रहेका नेपालीका लागि चर्चित क्लव याक एण्ड यतिमा राजेशपायलले यसअघि पनि सांगीतिक प्रस्तुती दिइसकेका छन् । आज साँझ हुने कार्यक्रममा राजेशपायलले नयाँ तथा पुराना दुई दर्जनभन्दा बढी आफ्ना लोकप्रिय गीतहरु गाउने भएका छन् ।